२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday
मनसुन ‘खण्डित’

मनसुन तन्किने सङ्केत, यस बर्ष ‘हिलेदशैँ’

अहिले भारतमा पश्चिमी भेगबाट मनसुन बाहिरिने क्रम सुरु भए पनि नेपालमा भने मनसुनको बहिर्गमनका लागि केही साता कुर्नुपर्ने र यसपालि ‘हिलेदशैँ’ हुन सक्ने सम्भावना छ ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २ गते बिहीबार

मौसविद्हरूले यसपालि नेपालबाट मनसुन सेप्टेम्बर महिनाको अन्त्यतिर बाहिरिने अनुमान गरेका थिए । तर पछिल्लो अवस्था विश्लेषण गर्दा त्यसपछि पनि अझै केही दिन वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ताले बताएकी छन् ।

‘समग्रमा हेर्दा पछिल्लो अवधिमा केही बढी वर्षा भएको देखिन्छ । अहिलेकै प्रवृत्ति हेर्दा दशैँसम्म मनसुन बाहिरिने देखिँदैन,’ प्रवक्ता विभूति पोखरेलले भनिन् । अहिले भारतमा पश्चिमी भेगबाट मनसुन बाहिरिने क्रम सुरु भइसकेको छ ।

तर नेपालमा भने मनसुनको बहिर्गमनका लागि केही साता कुर्नुपर्ने र यसपालि ‘हिलेदशैँ’ हुन सक्ने सम्भावना छ । ‘भारत, बाङ्ग्लादेश, नेपाल सबैको लागि एउटै प्रणाली भए पनि त्यो बीचमा अड्किने अवस्था बनिरहेको हुन्छ । त्यस्तो अवस्थामा कतैबाट बाहिरिने र कतै सक्रिय रहने अवस्था हुन सक्छ । आउँदा दिनमा थप स्पष्टता आउँदै जानेछ,’ पोखरेलले भनिन् ।

नेपालमा यो वर्ष सामान्यतया विगतका वर्षको भन्दा केही दिनअगाडि जेठ १५ गते मनसुन भित्रिएको थियो । मौसमविद्हरूले ३० सेप्टेम्बर (असोज १४) मा मनसुन बाहिरिने प्रक्षेपण गरेका थिए । त्यो दिन बडादशैँको अष्टमी पर्छ । गत वर्ष १० जुनमा भित्रिएको मनसुनको मौसम प्रणाली १२ अक्टोबरमा बाहिरिएको थियो ।

धेरै ठाउँमा खण्डवृष्टि

असोज २ गतेसम्मको विवरण अनुसार वार्षिक औसतको ८९.१ प्रतिशत अर्थात् १,१२२.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो देशभरिका १२६ मापन केन्द्रबाट जुटाइएको वर्षाको परिमाणको औसत हो । सरदर वर्षाको तुलनामा ९२ देखि ११० प्रतिशत पानी परेको अवस्थालाई सामान्य वर्षा मान्ने गरिन्छ ।

त्यसैले मनसुनका अझै दुई साता बाँकी रहँदा सरदर पानी पर्ने मौसम अधिकारीहरूको आकलन छ । तर मधेश प्रदेशमा भने औसत वर्षा पनि हुन सकेको देखिँदैन । त्यहाँ वार्षिक सरदरको तुलनामा ६४.५ प्रतिशत पानी परेको विवरण छ । सुदूरपश्चिमका पहाडी भेगमा ११० प्रतिशतसम्म समेत पानी परेको विभागको तथ्याङ्कले देखाउँछ ।

कतै अतिवृष्टि त कतै अल्पवृष्टि भएको तथ्याङ्क तथा विभिन्न स्थानहरूबाट प्राप्त विवरणहरूले पनि धेरै ठाउँमा खण्डवृष्टि भएको देखाउँछन् । विभागकी प्रवक्ता विभूति पोखरेल पनि यसपालि मनसुन ‘खण्डित’ भएको बताउँछिन् । ‘मनसुन सामान्यतः जसरी सक्रिय हुनुपथ्र्यो यसपटक त्यसो भएन । जुलाई महिनामा त कुनै उल्लेख्य प्रणाली नै देखा परेन । सुक्खाजस्तै नै रह्यो,’ उनी भन्छिन् ।

उनका अनुसार मनसुन याममा केही न केही जलवाष्पयुक्त हावा आइरहेको हुन्छ । त्यस हिसाबमा मात्र केही वर्षा भयो । तर त्यसलाई अझै सक्रिय बनाउन चाहिने अन्य प्रणालीहरू खासै देखिएनन् । पोखरेलका अनुसार खासगरी न्यून चापीय रेखा उत्तरतर्फ सर्दा, न्यून चापीय क्षेत्र बङ्गालको खाडी वा अरब सागरबाट आउँदा नेपालमा ठूला प्रणालीहरू सक्रिय हुने गरेका थिए ।

तर यसपालि त्यस्तो अवस्था खासै उत्पन्न भएन । ‘हाम्रा मौसम पूर्वानुमानमा कुनै क्षेत्रमा पानी पर्छ भनिए पनि आसपास कतै ठूलो पानी पर्यो भने त्यतै कतै कसैले भने त्यसलाई देख्नै पाएनन् । जस्तो, हामीले काठमाडौंमा पानी पर्छ भन्यौँ । तर भक्तपुरमा ठूलो पानी पर्यो तर बबरमहलमा सुक्खा रह्यो ।’

मधेशका लागि गरिएको पूर्वानुमान सच्च्याइयो

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले सेप्टेम्बर तेस्रो साता लागेपछि देशका विभिन्न ठाउँमा कतै ‘भारी’ र कतै ‘अति भारी’ वर्षा भएको बताउँछन् । ‘पछिल्ला केही दिन लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशतिर भारीदेखि अति भारी वर्षा भयो । अहिले कतैकतै खण्डित रूपमा भारी वर्षा भए पनि धेरैतिर मध्यम वर्षा भइरहेको अवस्था छ,’ दाहाल भन्छन् ।

मनसुन बाहिरिने अवस्थाका लागि अब त्यसको प्रवृत्तिको निगरानी तथा मूल्याङ्कन हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागले मध्यजेठतिर गरेको प्रक्षेपणमा यसपालि मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा धेरै पानी पर्ने उल्लेख थियो । तर मधेश प्रदेशमा समयमा पर्याप्त पानी नपरेपछि त्यसमा संशोधन गरियो ।

प्रायजसो नेपालमा मनसुनको प्रवेश १३ जुन अनि बहिर्गमन २ अक्टोबरमा हुने गर्छ । सामान्यतया मनसुन सक्रिय हुँदा १,५००–१,६०० मिलिमिटर वर्षा मापन गरिन्छ । गत वर्ष पनि सरदरभन्दा धेरै पानी परेको थियो । उक्त वर्ष १,७०० मिलिमिटरभन्दा धेरै वर्षा भयो । सन् २०२३ मा १,५७० मिलिमिटर वर्षा भएको अधिकारीहरूले बताएका थिए ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार