मौसविद्हरूले यसपालि नेपालबाट मनसुन सेप्टेम्बर महिनाको अन्त्यतिर बाहिरिने अनुमान गरेका थिए । तर पछिल्लो अवस्था विश्लेषण गर्दा त्यसपछि पनि अझै केही दिन वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ताले बताएकी छन् ।
‘समग्रमा हेर्दा पछिल्लो अवधिमा केही बढी वर्षा भएको देखिन्छ । अहिलेकै प्रवृत्ति हेर्दा दशैँसम्म मनसुन बाहिरिने देखिँदैन,’ प्रवक्ता विभूति पोखरेलले भनिन् । अहिले भारतमा पश्चिमी भेगबाट मनसुन बाहिरिने क्रम सुरु भइसकेको छ ।
तर नेपालमा भने मनसुनको बहिर्गमनका लागि केही साता कुर्नुपर्ने र यसपालि ‘हिलेदशैँ’ हुन सक्ने सम्भावना छ । ‘भारत, बाङ्ग्लादेश, नेपाल सबैको लागि एउटै प्रणाली भए पनि त्यो बीचमा अड्किने अवस्था बनिरहेको हुन्छ । त्यस्तो अवस्थामा कतैबाट बाहिरिने र कतै सक्रिय रहने अवस्था हुन सक्छ । आउँदा दिनमा थप स्पष्टता आउँदै जानेछ,’ पोखरेलले भनिन् ।
नेपालमा यो वर्ष सामान्यतया विगतका वर्षको भन्दा केही दिनअगाडि जेठ १५ गते मनसुन भित्रिएको थियो । मौसमविद्हरूले ३० सेप्टेम्बर (असोज १४) मा मनसुन बाहिरिने प्रक्षेपण गरेका थिए । त्यो दिन बडादशैँको अष्टमी पर्छ । गत वर्ष १० जुनमा भित्रिएको मनसुनको मौसम प्रणाली १२ अक्टोबरमा बाहिरिएको थियो ।
धेरै ठाउँमा खण्डवृष्टि

असोज २ गतेसम्मको विवरण अनुसार वार्षिक औसतको ८९.१ प्रतिशत अर्थात् १,१२२.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो देशभरिका १२६ मापन केन्द्रबाट जुटाइएको वर्षाको परिमाणको औसत हो । सरदर वर्षाको तुलनामा ९२ देखि ११० प्रतिशत पानी परेको अवस्थालाई सामान्य वर्षा मान्ने गरिन्छ ।
त्यसैले मनसुनका अझै दुई साता बाँकी रहँदा सरदर पानी पर्ने मौसम अधिकारीहरूको आकलन छ । तर मधेश प्रदेशमा भने औसत वर्षा पनि हुन सकेको देखिँदैन । त्यहाँ वार्षिक सरदरको तुलनामा ६४.५ प्रतिशत पानी परेको विवरण छ । सुदूरपश्चिमका पहाडी भेगमा ११० प्रतिशतसम्म समेत पानी परेको विभागको तथ्याङ्कले देखाउँछ ।
कतै अतिवृष्टि त कतै अल्पवृष्टि भएको तथ्याङ्क तथा विभिन्न स्थानहरूबाट प्राप्त विवरणहरूले पनि धेरै ठाउँमा खण्डवृष्टि भएको देखाउँछन् । विभागकी प्रवक्ता विभूति पोखरेल पनि यसपालि मनसुन ‘खण्डित’ भएको बताउँछिन् । ‘मनसुन सामान्यतः जसरी सक्रिय हुनुपथ्र्यो यसपटक त्यसो भएन । जुलाई महिनामा त कुनै उल्लेख्य प्रणाली नै देखा परेन । सुक्खाजस्तै नै रह्यो,’ उनी भन्छिन् ।
उनका अनुसार मनसुन याममा केही न केही जलवाष्पयुक्त हावा आइरहेको हुन्छ । त्यस हिसाबमा मात्र केही वर्षा भयो । तर त्यसलाई अझै सक्रिय बनाउन चाहिने अन्य प्रणालीहरू खासै देखिएनन् । पोखरेलका अनुसार खासगरी न्यून चापीय रेखा उत्तरतर्फ सर्दा, न्यून चापीय क्षेत्र बङ्गालको खाडी वा अरब सागरबाट आउँदा नेपालमा ठूला प्रणालीहरू सक्रिय हुने गरेका थिए ।
तर यसपालि त्यस्तो अवस्था खासै उत्पन्न भएन । ‘हाम्रा मौसम पूर्वानुमानमा कुनै क्षेत्रमा पानी पर्छ भनिए पनि आसपास कतै ठूलो पानी पर्यो भने त्यतै कतै कसैले भने त्यसलाई देख्नै पाएनन् । जस्तो, हामीले काठमाडौंमा पानी पर्छ भन्यौँ । तर भक्तपुरमा ठूलो पानी पर्यो तर बबरमहलमा सुक्खा रह्यो ।’
मधेशका लागि गरिएको पूर्वानुमान सच्च्याइयो

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले सेप्टेम्बर तेस्रो साता लागेपछि देशका विभिन्न ठाउँमा कतै ‘भारी’ र कतै ‘अति भारी’ वर्षा भएको बताउँछन् । ‘पछिल्ला केही दिन लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशतिर भारीदेखि अति भारी वर्षा भयो । अहिले कतैकतै खण्डित रूपमा भारी वर्षा भए पनि धेरैतिर मध्यम वर्षा भइरहेको अवस्था छ,’ दाहाल भन्छन् ।
मनसुन बाहिरिने अवस्थाका लागि अब त्यसको प्रवृत्तिको निगरानी तथा मूल्याङ्कन हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागले मध्यजेठतिर गरेको प्रक्षेपणमा यसपालि मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा धेरै पानी पर्ने उल्लेख थियो । तर मधेश प्रदेशमा समयमा पर्याप्त पानी नपरेपछि त्यसमा संशोधन गरियो ।
प्रायजसो नेपालमा मनसुनको प्रवेश १३ जुन अनि बहिर्गमन २ अक्टोबरमा हुने गर्छ । सामान्यतया मनसुन सक्रिय हुँदा १,५००–१,६०० मिलिमिटर वर्षा मापन गरिन्छ । गत वर्ष पनि सरदरभन्दा धेरै पानी परेको थियो । उक्त वर्ष १,७०० मिलिमिटरभन्दा धेरै वर्षा भयो । सन् २०२३ मा १,५७० मिलिमिटर वर्षा भएको अधिकारीहरूले बताएका थिए ।
सत्यपाटी