२०८२ भदौ ३१ गते मंगलवार, १६ सेप्टेम्बर २०२५ । आश्विन कृष्णपक्ष दशमी तिथि । आद्र्रा नक्षत्र, १०ः३० बजेपछि पुनर्वशु । चन्द्रराशि मिथुन ।
मेष – सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।
वृष – नियमित काम बने पनि केही सहयोगीले काममा धोका दिन सक्छन् । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ । भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ । कामले आम्दानी बढाउनेछ ।
मिथुन – सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । मनग्य धन आर्जन गर्न सकिनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
कर्कट – पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । खर्च लागे पनि रोकिएका काम बन्नेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ ।
सिंह – मिहिनेतले राम्रो परिणाम दिलाउनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । कृषि र पशुपालनमा फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान होला । आवश्यकता पूरा गर्न केही रकम कर्जा लिनुपर्ने हुन सक्छ ।
कन्या – मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले पनि काममा उत्साह जगाउनेछ । सामाजिक दायित्व बढ्नेछ । महत्त्वाकांक्षी योजना थालनी हुनेछ ।
तुला – विशेष कर्म प्राप्तिको योग छ । तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला । कुनै विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । लगनशीलताले समाधान दिलाउन सक्छ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा फाइदै हुनेछ । तर विरोधीहरूले दुःख दिनेछन्, सजग रहनुहोला ।
वृश्चिक – परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगको नाममा झुक्याउनेहरूले दुःख दिनेछन् । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ । तापनि फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । नयाँ काम थाल्न केही समय पर्खनुपर्ला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । पछाडिबाट अवरोध पुर्याउनेहरू सक्रिय रहने हुँदा सजग रहनुहोला ।
धनु – रमाइलो भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्छ । भौतिक साधन जुट्नाले पेसा–व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ । व्यापार बढ्नाले मनग्य लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
मकर – पहिलेको सफलताले हौसला जगाउनेछ र नयाँ कामतर्फ अग्रसर भइनेछ । विभिन्न अवसर पनि प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुने समय छ । शत्रु र रोगबाट भने सजग रहनुपर्ला । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।
कुम्भ – अवसरले पछ्याए पनि मौकाको फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला । स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहोला । मिहिनेतको परिणाम भने राम्रै हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । झमेला बेहोर्नुपरे पनि शुभचिन्तकहरूले राम्रो साथ दिनेछन् । मनको डर उत्साहमा रूपान्तरित हुनेछ ।
मीन – घरपरिवारमा असमझदारी बढ्न सक्छ । फजुल खर्च बढ्नेछ भने काममा पनि उल्झन आउन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ । मान–सम्मानमा समेत आघात पुग्ने सम्भावना छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । श्रमअनुसार सोचेको फाइदा नहुन सक्छ । तर परिस्थितिअनुसार नियम मिचेर पनि काममा अघि सर्नुपर्ला ।
