२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

अस्थायी रुपमा सेवा दिँदै नेपालगन्जका क्षतिग्रस्त कार्यालय

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ भदौ २९ गते आइतबार

नेपालगन्जमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका कार्यालयमध्ये केहीले अस्थायी रूपमा आजदेखि सेवा प्रवाह गर्न सुरु गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका, भन्सार कार्यालय र उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले सेवा प्रवाह सुरु गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामहरि शर्माले कार्यालय परिसरमा टेन्ट टाँगेर सेवा प्रवाह सुरु गरिएको जानकारी दिए । कार्यालयमा सरसफाइ र व्यवस्थापनको काम पनि भइरहेको उनको भनाइ छ ।

‘अस्थायी कार्यालय स्थापना गरेर भेटघाट र नागरिकको अत्यावश्यक केही काम गर्न थालिएको छ,’ उनले भने । उनले अवरुद्ध भएको विद्युत् जडान र शौचालय सरसफाइसमेत गरिएको बताए । उपमहानगरपालिकामा स्वास्थ्य सेवा सुरु गरिएको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

भन्सार कार्यालय नेपालगन्जले पनि औपचारिक रूपमा कार्यालयमा सञ्चालनमा ल्याएको जनाएको छ । भन्सार कार्यालय, नेपालगन्जका सूचना अधिकारी पवित्रकुमार खड्काले आयात निर्यात र जाँचपास सुरु भएको जानकारी दिए ।

उनले कार्यालयमा आगजनी र तोडफोड भएकाले प्रशासनिक र मुद्दामामिलाका काम सञ्चालन हुन अझै केही समय लाग्ने उल्लेख गरे । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आजदेखि बन्दीप्रत्यक्षकरणको रिट निवेदन सम्बन्धी काम सुरु गर्ने जनाएको छ ।

त्यसका लागि बार, बेञ्च र सरकारी वकिलको कार्यालयसँग छलफल गरिएको थियो । जिल्ला अदालतले सेवा प्रवाह कसरी गर्ने भन्ने विषयमा छलफल गर्दैछ । यसअघि जिल्ला प्रशासन कार्यालय, बाँकेले न्यूनतम सेवा कसरी प्रवाह गर्न सकिन्छ भनेर कार्यालय प्रमुखसँग छलफलसमेत गरेको थियो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रवाह तत्काल सुरु गर्न अप्ठ्यारो स्थिति रहेको बताए । ‘आगजनी र तोडफोडले सबै खरानी भएको छ, कसरी काम गर्ने भन्ने विषयमा अन्यौल छ,’ उनले भने ।

बाँकेमा निजी तथा सरकारी विद्यालय सञ्चालनमा आएका छन् । विद्यालयका दोस्रो चरणको परीक्षाका तयारीका लागि पनि विद्यालय सञ्चालनमा आएको विद्यालयले जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेका अध्यक्ष विकास बज्राचार्यले स्थिति सहज भएकाले सहयोग गर्न सबैलाई अनुरोध गरे ।

जेनजी प्रदर्शनका क्रममा बाँकेका अधिकांश सरकारी कार्यालयमा तोडफोड र आगजनी भएका कारण कार्यालयले सेवा प्रवाह गर्न सकेका छैनन् । क्षति भएका कतिपय कार्यालयहरुलाई सेवा प्रवाह गर्न अझै समय लाग्ने जनाइएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार