राजनीतिक अस्थिरता र कर्फ्युका बीच पनि मिथिलाञ्चलका महिलाहरू सन्तानको कल्याणका लागि मनाइने जितिया पर्वको तयारीमा जुटेका छन् । पितृपक्षको अष्टमी तिथिमा पर्ने यो पर्व यसपटक आइतबार २९ भदौ परेको छ । मैथिल परम्पराअनुसार सन्तानवती महिलाले ३१ घण्टा लामो कठोर व्रत बस्ने छन् ।
भोलि शनिबार राति ओगटन’ दर खाएर व्रत सुरु हुनेछ, जसमा दही–चिउरा खाने चलन छ । व्रत आइतबार बिहान ८ः४४ बजे सुरु भई सोमबार बिहान ७ बजे समापन हुनेछ । मिथिला संस्कार अनुसार, महिलाहरूले दिवंगत महिला आफन्तहरूलाई तर्पण दिँदै सन्तानको दीर्घायु, पराक्रम र सौर्य वृद्धि कामना गर्छन् ।
राजा जितवाहनको पौराणिक कथामा आधारित यो पर्व भविष्य पुराणमा वर्णित छ । कर्फ्युका कारण बजार आवत–जावत असहज भए पनि महिलाहरू पर्वको तयारीमा जुटिरहेको जलेश्वरकी शिक्षिका नायडु तिवारीले बताइन् । मिथिलामा यो पर्व सामाजिक प्रतिष्ठासँग समेत जोडिएको मानिन्छ । मधेस प्रदेश सरकारले महिलाका लागि तीजजस्तै जितिया पर्वमा पनि सार्वजनिक बिदा दिँदै आएको छ ।
