अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गर्ने भएको छ । विभागका निर्देशक टीकाराम ढकालले विज्ञप्ति जारी गरी नेपालमा पछिल्लो विकसित घटनाक्रमका कारण भिसा अवधि थप गर्न नसकेका विदेशी नागरिकमा पर्न गएको असुविधाप्रति संवेदनशील भएर अध्यागमन कार्यालयबाटै भिसा अनुमति दिने बताए ।
उनका अनुसार सेप्टेम्बर ८ सम्मको भिसा मान्य भएका र कफ्र्यू आदेश लागू भएको अवधिमा प्रस्थान गर्नुपर्ने विदेशी नागरिकलाई प्रस्थान गर्ने विन्दुमा अध्यागमन कार्यालयबाट अतिरिक्त शुल्क नलिई भिसा नियमितीकरण र बाहिर निस्कने अनुमति दिइनेछ । त्यस्तै यस अवधिमा राहदानी हराउने र सम्बन्धित दूतावासबाट ट्राभल डकुमेन्ट वा आपतकालीन राहदानी लिइसकेका विदेशी नागरिकका लागि भिसा स्थानान्तरणको पनि आवश्यक व्यवस्था मिलाइएको छ ।
यस्तो अवस्थामा उनीहरुको भिसा विद्यमान नियमन अनुसार हस्तान्तरण गरिनेछ र सम्बन्धित अध्यागमन कार्यालयबाटै भिसा नियमितीकरण र बाहिर निस्कने अनुमति दिइनेछ । अध्यागमन विभागको यो सूचनालाई नेपाल पर्यटन बोर्डले अद्यावधिक गर्दै पर्यटक आवागमन सहजीकरण भइरहेको उल्लेख गरेको छ ।
विमानस्थलबाट पर्यटकलाई होटलसम्म पुर् याउने र त्यहाँबाट विमानस्थल पुर्याउनका लागि सटल बसको व्यवस्था गरिएको बोर्डले जनाएको छ । पर्यटकलाई कुनै पनि समस्या परेका खण्डमा बोर्डले कर्मचारीलाई सम्पर्क नम्बरसहित २४ सै घण्टा तैनाथ गरिएको पनि अध्यागमनले जनाएको छ । जेनजीको प्रदर्शनका कारण यही भदौ २४ गते दिउँसो २ः३० बजेदेखि बन्द विमानस्थल २५ गते बुधबार दिउँसो २ः३० बजे खुलाइएको थियो ।
सत्यपाटी