देशभरका करिब डेढ सय स्थानमा सञ्चालनमा ल्याउने तयारी भइसकेको चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्ने वा नखुल्ने अनिश्चित बनेको छ । चाडपर्वको समयमा सर्वसाधारणलाई सुपथ मूल्यमा सामग्री उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालनमा ल्याउने भनिएको सहुलियत पसल खुल्ने वा नखुल्ने अनिश्चित बनेको हो ।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने निर्णय गरेको थियो र सोही अनुसार खाद्य कम्पनी र साल्ट ट्रेडिङले तयारी गरेका थिए । तर, जेनजी आन्दोलनले मुलुक नै तहसनहस भएपछि कहिले र कसरी सुपथ मूल्य पसल सञ्चालन गर्ने अन्योल भएको हो ।
चालू आर्थिक वर्षका लागि मन्त्रालयले सुपथ मूल्य पसलका लागि साल्ट ट्रेडिङलाई ३ करोड ८६ लाख ९९ हजार रुपैयाँ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भए पनि खोल्ने वा नखोल्ने बजार हेरेर पुनः मन्त्रालयले नै निर्णय गर्नुपर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमेश आचार्यले लोकान्तरलाई बताए ।
चार्डपर्वको समयमा चहलपहल र बजारको माग अनुसार सहुलियत पसल सञ्चालन गरिने भए पनि निर्णय नभएको उनको भनाइ छ । ‘अहिले केही भन्न सकिँदैन । सहुलियत पसल कहिले खोल्ने, त्यसको निर्णय गर्नुपर्छ । अहिले बजारमा केही गर्ने अवस्था छैन,’ उनले भने, ‘अवस्था सामान्य भए पनि मन्त्रालयले जे भन्छ त्यहीअनुसार हामीले गर्ने हो । त्यसअघि अनिश्चितजस्तै हो ।’
उनका अनुसार काठमाडौंको रामशाह पथमा रहेको बिक्री केन्द्रमा आगजनी भएको छ भने सिराहाको लहानमा रहेको गोदाममा लुटपाट र तोडफोड भएको छ । ‘रामशाह पथपमा रहेको बिक्री केन्द्रमा आगजनी र तोडफोड भएको छ । यता, लहानमा रहेको गोदाममा लुटपाट र तोडफोड भएको छ,’ उनले भने, ‘लहानमा करिब १२–१४ करोडको लुटपाट र तोडफोड भएको आकलन गरिएको छ ।’
यसै वर्ष कम्पनीले देशका १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरिसकेको थियो । यसका साथै काठमाडौंमा खसीबोका र च्याङ्ग्रा लागि अनलाइनमार्फत् बुकिङ पनि शुरू गरेको थियो । अब अनलाइनमार्फत् बुकिङ गराएर मात्रै ल्याउने कुरा मुस्किल हुने कम्पनीले जनाएको छ ।
यता, साल्ट ट्रेडिङले भने आजैदेखि केही स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन खोजेको थियो तर, असहज परिस्थितिका कारण आज नभई चाँडै सञ्चालनमा ल्याउने तयारी गरिरहेको साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले लोकान्तरलाई जानकारी दिए । आन्दोलनले साल्ट ट्रेडिङमा कुनै पनि क्षति नपुर्याएको र सर्वसाधारणका लागि सुपथ मूल्य सञ्चालन गर्ने उनको भनाइ छ ।
‘आजदेखि हामीेले केही स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने प्रयास गरेका थियौँ तर, सकिएन,’ उनले भने, ‘एक–दुई दिनभित्रै पसल सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छौं । यस्तो अवस्थामै सर्वसाधारणलाई सहुलियत पसल आवश्यक हो । त्यसैले हामी लागिरहेका छौं ।’ साल्ट ट्रेडिङसँग पर्याप्त खाद्यान्न मौज्दात रहेको र चाडपर्वमा अभाव हुन नदिने उनको भनाइ छ । साल्ट ट्रेडिङले देशभर ३८ स्थानहरूमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरिसकेको छ ।
सुपथ मूल्य पसलमा के-के सामान कतिमा पाइन्छ ?
सुपथ मूल्य पसलहरूबाट सबै प्रकारका चामल, चिनी, चिउरा, दाल तथा गेडागुडी, तेल घ्यू, कर्णालीको रैथाने उत्पादन (जुम्ली मार्सी, कागुनो, चिनो, तीते फापर, उवा) र नुनलगायत वस्तुहरू खरिद गर्न सकिन्छ । यसका साथै खसी, बोका, भेडा र च्याङ्ग्रासमेत बिक्री गरिन्छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४५ जिल्लाका ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको थियो ।
गत सोमबारदेखि शुरू भएको जेनजी आन्दोलनले उग्र रूप लिएपछि मुलुक तहसनहस भएको छ । पहिलो दिन १९ प्रदर्शनकारीको ज्यान गएपछि दोस्रो दिन आन्दोलनकारीले देशभर आगजनी र तोडफोड गरेका थिए । सिंहदरबारसहित संसद् भवन, अदालत, राष्ट्रपति निवासलगायत देशभरका धेरै सरकारी कार्यालयमा आगो लगाइएको थियो । यसैगरी, निजी घर र व्यापारिक भवनमा समेत व्यापक क्षति भएको छ ।
सत्यपाटी