२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ भदौ २७ गते शुक्रबार

जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु सम्पर्कमा आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध गरेसँगै बुधबारदेखि कैदीबन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन थालेको जनाएको छ ।

कञ्चनपुर कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीले भने, ‘हालसम्म ११७ जना कैदीबन्दी सम्पर्कमा आएका छन्, सम्पर्कमा आउने क्रम जारी छ । अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको बताएका छन्, कतिपय इलाका प्रहरीको सम्पर्कमा आएका छन् ।’ उनले केही कैदीबन्दीलाई प्रहरीले प्रक्राउ गरेर समेत ल्याएको बताए ।

बुधबार मात्रै कारागारबाट भागेका आठ जना कैदीबन्दीलाई भारतीय सीमानाका गड्डाचौकीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कञ्चनपुर कारागारमा ४७८ जना कैदीबन्दी थिए ।

जसमध्ये मङ्गलबार साँझ ४५५ जना भागेका थिए । भागेकामध्ये नौ जना कैदीबन्दी बुधबार बिहान आफैँ कारागार फर्किएका थिए । कारागार प्रशासनका अनुसार २३ जना बन्दीहरु भागेका थिएनन् । जिल्ला कारागार कञ्चनपुरमा हाल सबैभन्दा बढी लागुऔषधका बैन्दीहरु छन् । त्यसैगरी महिला हिंसा, चोरी, ठगी, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग लगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार