काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन गरिएको छ । खासगरी नेपाली सेनाको मुख्यालय भद्रकाली, नारायणहिटी, सिंहदरबार, शीतल निवास, निर्मल निवास लगायतका क्षेत्रमा सेनाको बाक्लो उपस्थिति छ ।
अत्यावश्यक सेवाका सवारी साधन समेत आवतजावत गर्न निकै कडाइ गरिएको छ । सडकमा आवतजावत बन्द गरिएको छ । कफ्र्यु जारी छ । सैनिक मुख्यालय भद्रकालीमा अन्तरिम सरकार र प्रधानमन्त्री नियुक्तिका विषयमा कसरत चलिरहँदा उपत्यका बाहिरबाट पनि सुरक्षाफौज भित्र्याइँदैछ ।
यसैगरी सेनाका बख्तरबन्द गाडीहरु पनि उपत्यका बाहिरबाट काठमाडौँ ल्याइँदैछ । नेपाली सेनाले हेटौँडाको बाटो भएर ठूलो संख्यामा बख्तर बन्द गाडीहरु काठमाडौँ झिकाएको छ । सेतो रङका बख्तरबन्द गाडीहरु हेटौँडाबाट काठमाडौँतर्फ आइरहेका छन् । काभ्रेको पाँचखालसहित उपत्यका बाहिरका विभिन्न ब्यारेकबाट पनि सेनाको ठूलो शक्ति काठमाडौँ केन्द्रित गरिएको छ ।

