२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday
जेनजी विद्रोह

‘हाइप्रोफाइल’ कैदीलाई फाप्यो जेनजी आन्दोलन, मनाङेजस्तो नैतिकता रविले देखाएनन्

रविसँगै मूलतः अहिले जेलमा रहेका तीन भिआइपीको चर्चा छ । ज्यान मुद्दामा डिल्लीबजार कारागारमा रहेका राजीव गुरुङ उर्फ दीपक मनाङे र नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय कारागार सुन्धारामा रहेका टोपबहादुर रायमाझीको चर्चा भइरहेको छ ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २६ गते बिहीबार

जेनजी आन्दोलनको उग्रताबीच देशभरका विभिन्न कारागारबाट १४ हजारभन्दा बढी कैदीहरू भागेका छन् । देशभरका विभिन्न जिल्ला कारागारहरूबाट र राजधानीका विभिन्न कारागारहरूबाट कैदीहरू भागेका हुन् । नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार राजधानीका कारागारहरूबाट सबैभन्दा बढी कैदीहरू फरार भएका छन् ।

फरारमध्ये हाइप्रोफाइल राजनीतिक र आपराधिक अभियोगमा रहेका व्यक्तिहरू समेत परेपछिका छन् । काठमाडौंका दुई प्रमुख जेलहरूबाट नख्खु र सुन्धाराबाट धेरै संख्यामा ‘हाइप्रोफाइल’ कैदी भागेका छन् । हाइप्रोफाइल कैदीहरूलाई जेनजीको नाममा रहेका अराजक समूहहरूले मंगलबार प्रहरी वृत्तमा तोडफोड र आगजनी गरेर भगाएका थिए । त्यही आडमा कारागार भित्रै रहेका कैदीहरूले बुधबार भाग्नका लागि कारागार तोडफोड र आगजनी गरेका थिए ।

उनीहरूले अन्य कारागारका कैदी भागेको भन्दै भग्न चाहेको इच्छा व्यक्त गरेका थिए । नेपालका हाइप्रोफाइल कैदीबन्दी रहेका कारागार नै सुरक्षा दृष्टिकोणले कमजोर रहेकाले गर्दा कारागारबाट भाग्न सहज भएको हो । विशेष गरी नक्कली भुटानी शरणार्थी प्रकरण, ठुला आर्थिक घोटाला, सङ्गठित अपराध तथा राजनीतिक संवेदनशील मुद्दामा संलग्न भनिएका उच्च पदस्थ व्यक्ति र चर्चित अपराधीहरू रहेका कैदी पनि फरार छन् ।

कारागारको भौतिक संरचना जीर्ण हुनु, निगरानी प्रणालीको अभाव हुनु र पर्याप्त प्रशिक्षित सुरक्षाकर्मी नहुँदा र जेनजी आन्दोलनकारीहरूको नाममा रहेका अराजक समूहले हाइप्रोफाइल कैदी बन्दीलाई भगाएका थिए । त्यसै क्रममा डिल्लीबजार कारागारमा रहेका कैदीहरूले पनि कारागारमा आगो लगाइदिएका थिए । त्यो कारागारमा हाइप्रोफाइल कैदीहरू केबी उप्रेती, याम बहादुर मल्ल, गुन्डा नाइके दीपक मनाङे, कमल ज्ञवाली, इच्छाराज तामाङ, तत्कालीन कोशी प्रदेशसभाका सचिव गोपाल पराजुली, पृथ्वी मल्ल थिए ।

उल्लेखित हाइप्रोफाइल कैदीहरू नै भाग्न खोजेपछि अन्य कैदीहरू पनि भाग्न खोजेका थिए । तर पूर्व मन्त्री समेत भएका मनाङे भने भाग्न चाहेका थिएन । मनाङेलाई ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष जेल सजायको आदेश भएको थियो । अदालतको आदेशपछि केही समयसम्म लुकेर बसेका गुरुङ अन्ततः प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो । डिल्लीबजार कारागारका ती हाइप्रोफाइल कैदीहरू भाग्न खोजेपछि सेनाले कारागारबाट बाहिर निस्किएका कैदीहरूलाई गेटमै रोकेको थियो ।

त्यस्तै, ललितपुरमा रहेको नख्खु जेलबाट सहकारी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछाने र जनकपुर बम विस्फोट अभियोगमा सजाय काटिरहेका कुख्यात अपराधी सञ्जय टक्ला पनि फरार भएका छन् । तर,अहिलेसम्ममा हाई प्रोफाइल कैदीबन्दीहरुमा सञ्जय ‘टक्ला’लाई पुनः पक्राउ गरिएको छ । उल्लेखित हाइप्रोफाइल कैदीहरू नै भाग्न खोजे पछि अन्य कैदीहरू पनि भाग्न खोजेका थिए । तर पूर्व मन्त्री समेत भएका मनाङे भने भाग्न चाहेका थिएन ।

मनाङेलाई ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष जेल सजायको आदेश भएको थियो । अदालतको आदेशपछि केही समयसम्म लुकेर बसेका गुरुङ अन्ततः प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो । साना बचतकर्ताको रकम जम्मा गर्ने सहकारीको रकम ठगी गरेको आरोपमा जेल जीवन बिताइरहेका लामिछानेलाई पनि उनीहरूले निकालेका हुन् । यता उनले भने सबै कानुनी प्रक्रिया पूरा गरेरै जेलबाट निस्किएको दाबी गरिरहेका छन् । सोही समयमा कारागारका अन्य सबै जना कैदीहरू पनि बाहिर निस्किएर फरार भएका थिए ।

उनी नख्खु जेलबाट छुटे लगत्तै अन्य स्थानका कारागारहरूबाट पनि कैदीहरू फरार भएका थिए । यतिमात्र नभई देशका अन्य क्षेत्रहरूबाट बैंकिङ्ग कसुरका घटना तथा अन्य विभिन्न घटनाहरूमा संलग्न हाइप्रोफाइलहरु कैदीहरू फरार भएका छन् । सुनधारा कारागार, काठमाडौंमा भएको ठुलो ब्रेकआउटमा पूर्व गृहसचिव टेकनारायण पाण्डे, र एमालेका पूर्व सचिव टोप बहादुर रायमाझी भागेका छन् । यी दुवै जना उच्च तहका राजनीतिक र प्रशासनिक पदमा रहेर भ्रष्टाचार तथा आपराधिक मुद्दामा कारावासमा थिए ।

त्यस्तै, यस कारागारबाट बहुचर्चित सुन तस्कर चूडामणि उप्रेती (गोरे) समेत फरार भएका छन् । सुन्धारास्थित केन्द्रीय कारागारका तोडफोड र आगजनी गर्दै कैदीहरू भाग्ने क्रममा गोरे समेत भागेका हुन् । सुन तस्करी, हत्याका नाइकेका रूपमा चिनिएका गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका हुन् । यसमध्ये, पाण्डेले कारागारबाट भागेर राति ११ बजेतिर भागेपछि कारागार प्रशासनलाई फोन गरी ‘म पछि आउँछु’ भनेका छन् । हाल उक्त कारागारमा करिब ५०० कैदी मात्रै बाँकी छन् । प्रहरीका अनुसार सुनधारा कारागारबाट मात्रै तीन हजार ३०० कैदी फरार भएका हुन् ।

आन्दोलनकारीहरूले आक्रमणपछि सुरक्षाकर्मीलाई पराजित गर्दै कैदीहरूलाई बाहिर निकाल्न सफल भएका थिए । नख्खु जेलमा करिब एक हजार ५०० कैदीमध्ये सयौँ भागेका थिए भने सुनधाराबाट मात्र तीन हजार ३०० भन्दा बढी कैदी फरार भएका थिए । तर कारागारबाट भागेका कैदीहरूमध्ये एक हजार ४५५ जना कैदीलाई पुन पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले बताएका छन् । साथै, रसुवा कारागारबाट सबै कैदी बन्दी फरार भएका थिए । त्यहाँबाट भाग्ने कैदीहरूमा कुख्यात अपहरणकारी भारतीय नागरिक उदय सेट्टी पनि रहेका छन् । उनी अपहरण र व्यक्ति हत्याको मुद्दामा कारागारमा थिए ।

मनाङेबाट रविले सिक्नुपर्ने पाठ

जेनजी आन्दोलनको फाइदा उठाउँदै जेलबाट निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले त्यसको दोस्रो दिन ‘सिधा कुरा’ भनेर सामाजिक सञ्जालमार्फत आफ्ना कुरा मात्रै राखेनन्, आक्रोश सुनाए । उनले ‘मैले बाँच्न पाउने कि नपाउने ?’ भन्दै प्रश्नसमेत गरे । आफू नक्खु जेलबाट प्रक्रिया पुर्याएर बाहिरिएको बताउँदै आएका रविले बुधार पुनः दोहोर्याए, ‘भिड बढेपछि कारागारले मलाई जबरजस्ती बाहिर निकालेको हो। मैले बिनापत्र जान्न भनेको हुँ । उनीहरूले जस्तो पत्र दिए, जस्ताको तस्तै सार्वजनिक गरिसकेको छु ।’

उनले त्यसबारे आफूले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीहरूलाई समेत जनाकारी गराइसकेको बताए । तर, उनीहरूले पनि सुरक्षा दिन नसकेरै कारागारले तपाईँलाई पत्र दिएको होला भन्ने जवाफ दिएको र आफैँ सुरक्षित बस्नु भनेको बताए । उनले भने, ‘मलाई तपाईँहरूले आफ्नो कस्टडीमा राख्नुस्, नियन्त्रणमा लिनुस् या कारागार पठाउनुस् भनेँ । उहाँहरूले नै भन्नुभयो, तपाईँ आफैँ सुरक्षित बस्नुस् । आवश्यक परे सम्पर्क गर्छौँ । सुरक्षा दिन नसकेरै हिजो कारागारले तपाईँलाई पत्र दिएको होला भन्नुभयो ।’

रविको यो दाबीलाई कसैले पत्याए पनि नपत्याए पनि उनको रिहाइलाई धेरैले भने गलत भनिरहेका छन् । रविसँगै मूलतः अहिले जेलमा रहेका तीन भिआइपीको चर्चा छ । ज्यान मुद्दामा डिल्लीबजार कारागारमा रहेका राजीव गुरुङ उर्फ दीपक मनाङे र नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय कारागार सुन्धारामा रहेका टोपबहादुर रायमाझीको पनि चर्चा भइरहेको हो । रवि निस्किएपछि टोपबहादुर पनि कारागारबाट फरार भए । मनाङे भने जलबाट बाहिर आउन नचाहेको भन्ने खबर आएका थिए ।

अहिले मनाङे बराबरको नैतिकता रविले देखाउन नसकेको टिप्पणी भइरहेको छ । रवि निस्किएको नक्खु कारागारका सबै गैदीबन्दी फरार भएका छन् भने उनीहरूले कारागार नै जलाइदिएका छन् । त्यो घटनापछि अहिले दर्जनौँ कारागार तोडफोड भएको छ । देशभरका कारागारबाट झण्डै साढे १४ हजार कैदीबन्दी र प्रहरी हिरासतमा रहेका ५०० भन्दा बढी थुनुवा फरार भए । केन्द्रमा भिआइपीहरूनै रिहाइ वा फरार जे भने पनि जेलमुक्त हुन थालेपछि नै जिल्ला–जिल्लाका कारागारमा रहेका कैदीबन्दीहरूले उद्दण्ड मच्चाएका हुन् ।

भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेर अहिले फरार भनिएका टोपबहादुर हुन् या सहरकारी ठगी प्रकरणमा कारागारमा रहेर अहिले सबै प्रक्रिया पुर्याएर रिहा भएको बताइरहेका रवि हुन्, दुवैले आफूहरू कारागार फर्किन तयार रहेको बताइरहेका छन् । यी दुई जनाले कारागार फर्किन चाहेको तर सुरक्षा निकायले नै नचाहेको तर्क तर्कसङ्गत भने छैन । उनीहरूले फर्किन चाहन्छु मात्रै भनेर पुग्दैन । विधि र कानुन मान्नेले तुरुन्त आफूखुसी जसरी निस्किएका छन् त्यसैगरी कारागार फर्किनुपर्छ ।

रवि र टोपबहादुर निस्किएसँगै देशभरका कारागारमा उथलपुथल बढेको हो । कुख्यात अपराधीहरू समेत कारागारबाट भागेका छन् । यसले समुदायमा सुरक्षा चुनौती मात्रै बढाएको छैन, कानुनी व्यवस्थाको समेत धज्जी उडाएको छ । भ्रष्ट, हत्या, बलात्कारजस्ता जघन्य अपराधमा सजाय भोगिरहेका कयौँ व्यक्तिहरू जेलबाट निस्किँदा उनीहरूका गाउँघरमा त्रास फैलिएको छ भने समाजमा सुरक्षा जोखिम नै बढेको छ । कारागारमा रहेका व्यक्तिले जुन–कुनै बहानामा भए पनि अदालती प्रक्रिया पूरा नगरी बाहिर निस्किनु कानुनी व्यवस्थाको उल्लङ्घन हो । त्यसैले यस्तो अवस्थामा, आफूखुसी राज्यलाई नै चुनौती दिँदै निस्किएकाहरूलाई तुरुन्तै कारागारमा फर्काइनुपर्छ ।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार