२०८३ भदौ २६ , शुक्रबार 11, September 2026, Friday

देशभरका जेलबाट १४ हजार ३०७ कैदी फरार, एक हजार ४५५ पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका-२ नौवस्तामा रहेको बाल सुधार गृह ।

जेनजी आन्दोलनका कारण उत्पन्न अस्थिरताको फाइदा उठाउँदै देशका विभिन्न कारागारबाट १४ हजार ३०७ कैदीबन्दी फरार भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार फरार भएकामध्ये एक हजार ४५५ जनालाई पुनः पक्राउ गरिएको छ, तर १२ हजार ८५२ कैदी अझै फरार छन् ।

साथै, ५७३ थुनुवाको खोजी कार्य जारी रहेको उनले बताए । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भएपछि कैदीहरू भाग्ने क्रम तीव्र भएको प्रहरीको भनाइ छ । नख्खु कारागारबाट सुरु भएको विद्रोहको आगो देशका अन्य कारागारहरूमा पनि सल्किएको छ ।

मंगलबार साँझ तुलसीपुर कारागारबाट १२५ कैदी फरार भएका थिए, जसमध्ये ९७ जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएर कारागार फर्काएको छ । काठमाडौंको डिल्लीबजार कारागारमा बुधबार बिहानैदेखि कैदीहरू भाग्ने प्रयासले स्थिति तनावग्रस्त बनेको थियो । प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी र हतियार खोस्ने घटनाहरू बढेपछि प्रहरीहरू ज्यान जोगाउन युनिट छाडेर हिँड्न बाध्य भएका थिए ।

देशका विभिन्न कारागारमा भएका जेलब्रेकका घटनाहरूले सुरक्षा अवस्था थप जटिल बनेको छ । कपिलवस्तु, सिन्धुली, डोटीको बाल सुधार गृह, सुनसरीको झुम्का कारागार, मोरङ कारागार, विराटनगरको बाल सुधार गृह, रौतहट कारागार, बझाङ र नेपालगन्जको नौवस्तास्थित कारागारबाट ठूलो सङ्ख्यामा कैदी फरार भएका छन् ।

विराटनगरको बाल सुधार गृहबाट २०० भन्दा बढी र रौतहट कारागारबाट पनि झन्डै सोही सङ्ख्यामा कैदी भागेका छन् । बझाङबाट ६५ र कपिलवस्तुबाट ४०० भन्दा बढी कैदी फरार भएको प्रहरीले जनाएको छ । मोरङ कारागारमा कैदी भगाउन खोज्दा नेपाली सेनाले हवाई फायर गर्नुपरेको थियो ।

बाँकेको बैजनाथ गाउँपालिका-२ नौवस्तास्थित बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार किशोर कैदीहरूले गेट तोडेर भाग्ने प्रयास गर्दा झडप भएको थियो । उक्त कारागारमा रहेका ५८५ कैदीबन्दीमध्ये १४९ र बाल सुधार गृहबाट ७६ जना फरार भएका छन् ।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार