२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

नेपाली यु-२३ टोलीले विमानस्थलमै रात बिताए, स्वदेश फर्कियो बंगलादेशी टोली

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २६ गते बिहीबार

एएफसी यु–२३ एसियन कप खेल्न ताजकिस्तान पुगेको नेपाली टोलीले विमानस्थलमै रात बिताएको छ । टोली बुधबार राति फर्किने तय थियो । तर, उडान हुन नसकेपछि टोली अलपत्र परेको हो । टोलीमा रहेका खेलाडीका अनुसार दुशान्बेमा हिजो धेरैजसो होटल प्रायः भरिएका थिए ।

त्यसैले राति होटल व्यवस्थापन गर्न निकै कठिन भएपछि टोलीले विमानस्थलमै रात बिताएको हो । पूरा रात विमानस्थलमै बिताएपछि टोलीलाई बिहान मात्रै होटलमा लगिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । अहिले टोली एफसी इस्तिक्लोलको प्रशिक्षण मैदान नजिकैको होटलमा लगेर राखिएको एन्फाले बताएको छ ।

यस्तै केही दिनदेखि काठमाडौंमा अलपत्र परेका बंगलादेश फुटबल टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहान ११ः३० पछि विशेष उडानमार्फत ढाका फर्काइएको छ । बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले काठमाडौंस्थित दूतावास र बंगलादेश सरकारले संयुक्त पहल गरेपछि कप्तान जमाल भुइयाँसहित टोली स्वदेश फर्किएको हो ।

नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल कभर गर्न आएका पत्रकारहरू पनि यही उडानमार्फत फर्किएका छन् । जेनजी आन्दोलन चर्किएपछि गत ९ सेप्टेम्बर सरकार ढलेको थियो । त्यसैकारण ९ तारिख दिउँसोदेखि बुधबार साँझसम्म सम्पूर्ण हवाई उडान स्थगित गरिएको थियो । साँझपछि पुनः उडान सुरु भएपछि बीएफएफले टोलीलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।

बंगलादेश टोली दुईवटा खेल खेल्न काठमाडौं आएको थियो । तर, ८ सेप्टेम्बरदेखि आन्दोलन सुरु भएपछि ९ सेप्टेम्बरको खेल रद्द भएको थियो । त्यस दिनै स्वदेश फर्कने तयारी भए पनि विमानस्थल बन्द भएकाले उनीहरू होटलमै अलपत्र परेका थिए । ८ सेप्टेम्बरमा आन्दोलन उत्कर्षमा पुगेपछि टोलीको अभ्यास समेत रद्द भएको थियो ।

स्थिति नियन्त्रणमा लिन सरकारले कफ्र्यू जारी गरेको थियो । त्यस क्रममा जमालसहितको टोली बसेको होटल नजिकै पनि तोडफोड र आगजनी भएको थियो । सुरक्षाको कारण टोली दुई दिनसम्म होटलमै बस्न बाध्य भएको थियो । फुटबलरहरूको सुरक्षाका लागि बंगलादेश सरकार र बीएफएफले निरन्तर सम्पर्कमा रहेका थिए । होटलमा बन्दी अवस्थामा रहँदा खेलाडीहरूले त्यहाँको जिम प्रयोग गरेर समय बिताएका थिए ।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार