२०८३ असार २८ , आइतबार 12, July 2026, Sunday

कर्फ्यु आदेश क्रमशः खुकुलो गर्दै सेना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २६ गते बिहीबार

नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएको छ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा जारी भएको निषेधाज्ञा तथा कर्फ्यु खुकुलो तुल्याइने जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा आज बिहान १० देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ । कर्फ्यु भने आज बेलुकी ७ बजेदेखि भोली बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ । निर्देशनालयका अनुसार नागरिकलाई अत्यावश्यक कार्यको लागि आज बिहान ६ बजेदेखि १० बजेसम्म र सोही दिन बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने गरी समय निर्धारण गरिएको छ ।

निषेधाज्ञा तथा कफ्र्यूको समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ । उक्त समयमा सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्नेछने ।

यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्न सेनाले स्पष्ट गरेको छ । सेनाले आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सम्बद्ध सबैमा अनुरोध समेत गरेको छ । काठमाडौँ उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुरूप जिल्ला सुरक्षा समितिहरूबाट निर्णय तथा समन्वय गरिएबमोजिम हुने जानकारी दिइएको छ । जस्तोसुकै परिस्थितिमा पनि आमनेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही जिम्मेवारी निर्वाहमा सक्रिय सुरक्षाकर्मीहरूलाई सहयोग पुर्याउन सबैमा सेनाले अपिल गरेको छ ।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार