सोमवारयताका ‘जेनजी’ प्रदर्शनमा भएका जनधनको क्षतिले पूर्वी नेपालको सुनसरीस्थित इनरुवामा बस्ने राकेश निरौला बेचैन बनेका छन् । उनको जिल्लामा पर्ने इटहरीमा दुईजना प्रदर्शनकारीले ज्यान गुमाए, तनावपूर्ण स्थिति बन्यो र त्यहाँ कफ्र्यू लाग्यो ।
‘मङ्गलवारका घटनामा हाम्रै सम्पत्तिहरू क्षति भएको छ जुन हुनु हुँदैनथ्यो । तर विनाशबाट एउटा आशा पनि पलाउँछ,’ एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा काम गर्ने ३६ वर्षीय निरौलाले भने । अहिले साथीभाइसँगका चियागफमा आफूहरू यस आन्दोलनले के दियो भन्ने गहिरो समीक्षा गर्न थालेको उनी सुनाउँछन् ।
‘यो आन्दोलन नेता र कर्मचारीहरूलाई एउटा पाठ सिक्ने अवसर पनि भएको छ जस्तो लाग्छ । जसले गर्दा आउँदा दिनमा केही सच्चिएर र सुधार भएर सुनौलो भविष्य देखिएला कि !’ नेपालमा एकाएक विकसित नाटकीय घटनाक्रमपछि मानिसहरूको मनमा अन्यौल र अनिश्चितता व्याप्त देखिन्छ । तर निरौलाजस्ता कैयौँ मानिसहरू सकस र त्रासकै बीचमा आशावादी हुन समेत खोजिरहेका छन् ।
‘शान्ति भइदिए हुन्थ्यो’
सञ्जना पाण्डे, ३५, राजधानी काठमाण्डूमा एउटा कफीशप र एउटा रेस्टुराँ सञ्चालन गर्छिन् । तीन दिनदेखि कहिले आन्दोलन त कहिले कफ्र्यूले गर्दा उनको व्यवसाय ठप्प छ । त्यो कहिलेदेखि खोल्न पाइएला भन्ने समेत उनलाई थाहा छैन । ‘व्यवसाय बन्द गरेर बस्दा गाह्रै हुन्छ । केही सोच्न सकेकी छैन । तनावको स्थिति छ,’ उनले फोनमा भनिन् ।
‘छिटोभन्दा छिटो पसल खोल्न पाए हुन्थ्यो भन्ने लाग्छ तर स्थिति के हुन्छ हेरौँ ?’ उनले भनिन् । पछिल्ला दुई दिनमा कैयौँ मानिसहरू मारिएको र ठूल्ठूला सार्वजनिक सम्पत्ति नष्ट भएका पीडादायी दृश्य देखेकी उनको मनमा अहिले ‘शान्ति भइदिए हुन्थ्यो’ भन्नेबाहेक केही खेलेको छैन । उनले थप भनिन्, ‘सबैतिर शान्ति भइदियो भने मात्र सजिलो हुन्छ । आखिर सबै जनताले त्यही खोजेका होइनन् ?’
‘सेनालाई विश्वास गर्नुपर्छ’
ललितपुरमा व्यवसाय गरेर बस्ने प्रभात पौडेल ‘साह्रै दुखद घटनाहरू’ भएका पछिल्ला दिनका दृश्यहरू बिर्सन खोजेर पनि नसकिरहेको बताउँछन् । कलिला बालबालिकाहरूको मृत्यु र त्यसपछिको आक्रोशका क्रममा प्रधानमन्त्रीले राजीनामा दिइसक्दा आन्दोलन रोकिनुपर्नेमा सिंहदरबार, सर्वोच्च अदालतसहितका देशका महत्त्वपूर्ण पूर्वाधार जल्ने अवस्था आउनुलाई उनले दुर्भाग्यपूर्ण बताए ।
तर पनि अबको परिवेशमा देशको ‘सेनालाई विश्वास गर्नु’को विकल्प नरहेको उनी बताउँछन् । ‘हामीलाई राजनीति पनि चाहिन्छ, सेना पनि चाहिन्छ, प्रहरी पनि चाहिन्छ । अब उहाँहरूले कसरी यसलाई लयमा ल्याउनुहुन्छ भनेर हेर्न बाँकी छ,’ ४८ वर्षीय पौडेलले भने । ‘अहिले मुख्य कुरा देशमा शान्ति सुरक्षा कायम हुनु ठूलो कुरा हो । शान्ति सुरक्षा कायम भयो भने गरिखाने वर्ग पुरानै ट्र्याकमा आउलान् ।’
‘राजनीतिभन्दा माथि उठौँ’
काठमाडौंमा सामाजिक कार्यकर्ताका रूपमा काम गर्ने तरु कार्कीले परिवर्तनको आशा र भ्रष्टाचारले सिर्जना गरेको निराशाबीच ’अब अति भयो’ भन्दै युवाहरू सडकमा आएको रूपमा आफूले बुझेको बताउँछिन् । ‘हिजोसम्म जे हुनु भइसक्यो । आन्दोलनले सोचेभन्दा निकै खराब स्वरूप समेत लिइसक्यो । तर अब मुख्य रूपमा शान्ति आउनुपर्यो र भ्रष्टाचार रोकिनुपर्यो,’ ४० वर्षीय कार्की भन्छिन् ।
‘नेपालको जल्दै नजल्नुपर्ने सम्पत्ति जल्दा, अबोध बालबालिकाहरूले ज्यान गुमाउँदा मन भक्कानिएको छ । त्यसरी हेर्दा त अहिले देशको अवस्था कहालीलाग्दो छ ।’ तर पनि अगाडिको बाटो सोच्दा सबै तप्काहरूले ‘राजनीतिभन्दा माथि उठेर’ ती युवाका सोचलाई मूर्तरूप दिन आवश्यक पर्ने उनी ठान्छिन् । ‘अहिले देखा परेको निराशालाई बुझेर नयाँ नेपाल र सुन्दर भविष्य निर्माणका लागि सघाउन आवश्यक छ ।’
सत्यपाटी