जेनजीको दुई दिनको आन्दोलनपछि काठमाडौंको अवस्था केही सामान्य बन्दै गएको छ । बुधबार बिहानैदेखि काठमाडौंका सडकमा केही गाडी र नागरिक देखिएका छन् । काठमाडौंका प्रमुख सडकहरुमा नेपाली सेनाले गस्ती गरिरहेको छ ।
सेनाले पैदल यात्रु र सवारीहरुलाई सोधपुछ गर्दै छाड्ने गरेका छन् । पुरानो बानेश्वर, नयाँ बानेश्वर, पुतली सडक, सिंहदरबार क्षेत्रका सडकमा सामान्य आवतजावत देखिएको छ । किराना पसल, तरकारी पसल, डेरी लगायत पसलहरु सञ्चालनमा आएका छन् ।
मंगलबार भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेना लगायत सुरक्षा निकाय परिचालित भएका हुन् । सेनाले घर र गल्ली बाहिर निस्किएका सर्वसाधारणलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।
आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ । प्रदर्शनका कारण फोहोर भएका केही सडकमा ब्रुमरले सफा गर्ने काम पनि सुरु भएको छ ।
सत्यपाटी