२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

मन्त्री र पार्टीका नेतालाई हेलिकप्टरमार्फत सेनाले लियो ब्यारेकमा

ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ । नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका छन् । मन्त्रीहरुको उद्धार गरेर नेपाली सेनाले आफ्नो ब्यारेकमा लागेको बताइएको छ ।

नेपाली सेनाले मन्त्री र प्रदेश प्रमुखहरूलाई सुरक्षित स्थानमा राखेको जनाएको छ । मंगलबार विहानैदेखि आक्रोसि रहेका प्रर्दशनकारीले नेताका घरघरमा आगजनी र तोडफोड गरेपछि मन्त्रीहरूलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा लगिएको हो । सेनाका एक अधिकारीले जनाएअनुसार सेनाको सुरक्षामा उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ ।

उनीहरूलाई विभिन्न स्थानबाट ओसारिएको सेनाका ती अधिकारीले बताए । यस्तै, केही नेताहरूलाई समेत सेनाले सुरक्षित स्थानमा राखेको जनाएको छ । मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ ।

अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार