२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

चर्कियो जेनजी आन्दोलन, सरकारी र दलका कार्यालयमा ढुंगामुढा र आगजनी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २४ गते मंगलबार

जेनजीले सुरु गरेको आन्दोलन देशव्यापी बन्दै गएको छ । दोस्रो दिन मंगलबार बिहानैदेखि काठमाडौँ उपत्यकासँगै बाहिरी जिल्लामा पनि प्रदर्शन चर्किएको हो । यसै क्रममा कञ्चनपुरका पनि विभिन्न ठाउँमा युवा विरोधमा उत्रिएका छन् ।

महेन्द्रनगरमा टायर बालेर युवा प्रदर्शनमा उत्रिएका छन् । आक्रोशित युवाले सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालय निसाना बनाएका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयमा आक्रोसित युवाहरुले ढुंगामुडा गर्दै तोडफोड गरेका छन् । नेकपा एमाले र नेपाली काग्रेसको जिल्ला पार्टी कार्यालयमा आगो झोस्ने प्रयास गरेका छन् ।

दुवै पार्टी कार्यालय परिसरमा टायर बालेर आगो लगाउने कोसिस भएको छ । भीमदत्त नगरपालिका मूल प्रवेश द्वारमा ढुङ्गामुढा गरिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कञ्चनपुरका चोक चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प छन् । जेनजीको आन्दोलनमा सरकारी दमनमा युवाहरुको ज्यान गएपछि श्रद्धाञ्जली अर्पण गर्दै यातायात सेवा बन्द गरिएको छ ।

यसैबीच, सर्लाही रहेका सत्तारूढ दल कांग्रेस र एमाले पार्टी कार्यालयमा आगजनी भएको छ । सदरमुकाम मलंगवास्थित सत्तारूढ दलका पार्टी कार्यालयमा आगजनी भएको हो । बिहानैदेखि आन्दोलनमा उत्रिएका जेन्जीले पार्टी कार्यालयमा आगजनी गरेको मलंगवा प्रहरीले जनाएको छ । सरकारविरुद्ध जेन्जीले हिजोदेखि देशव्यापी आन्दोलन थालेका छन् । आन्दोलनमा सयौं घाइते भएका छन् भने १९ जनाले ज्यान गुमाएका छन् । शैक्षिक संस्था र बजार पनि बन्द गरिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार