सामाजिक सञ्जाल बन्दविरुद्धको आन्दोलनमा १९ जनाले ज्यान गुमाएपछि काठमाडौंस्थित सात देशका दूतावासहरूले संयुक्त वक्तव्य जारी गर्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन अपिल गरेका छन् ।
अमेरिका, अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र र बेलायतका नेपालस्थित दूतावासहरूले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन रहेको उल्लेख छ ।
वक्तव्यमा भनिएको छ, ‘हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्दछन् । हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण समाधान खोज्न र यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं ।’
यसअघि संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (युएनएचसिएचआर)ले पनि नेपालमा शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र संरक्षण गर्न सरकारलाई आग्रह गरेको थियो ।
संयुक्त प्रेस विज्ञप्ति
अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट :
हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं । यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं । पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं ।
साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ । हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं ।
