पछिल्ला दिनमा जेनेरेसन जेड अर्थात् जेनजी पुस्ता चर्चामा छ । देशमा बढ्दै गएको बेथिति र भ्रष्टाचारसँगै सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध जेनजीले सडक आन्दोलन सुरु गरेपछि यो पुस्ताको चर्चा ह्वात्तै बढेको हो । सन् १९९७ देखि २०१२ का बीचमा जन्मेको पुस्तालाई नै जेनजी भनिन्छ ।
यो पुस्तालाई ‘जुमर’ वा जेनजी पनि भन्ने गरिन्छ । जेन जेडलाई पहिलो ‘डिजिटल न्याटिभ’ पुस्ता पनि मानिन्छ । यो भनेको पश्चिमी देशहरूमा इन्टरनेट युगमा हुर्केको पहिलो पुस्ता हो । त्यसैले सामाजिक सञ्जालमा जेन–जीहरूको उपस्थिति व्यापक देखिन्छ । उमेर समूहअनुसार जेनेरेसनको वर्गीकरण विश्वमा नयाँ अभ्यास होइन ।
सन् १९०० देखि यस्तो अभ्यास हुँदै आइरहेको पाइन्छ । तर नेपालमा भने यस्तो वर्गीकरण खासै प्रचलनमा छैन । यो अभ्यास समाजशास्त्रीले सुरुमा युरोप र अमेरिकामा गरे । पछि अन्य देशले पनि यसलाई रुचाए र विश्वभर फैलिएको हो । विभिन्न देशमा यसको अभ्यास भइसकेको भए पनि नेपालमा भने यो पहिलोपटक भएको हो । जसले भ्रष्टाचारविरुद्ध मात्रै नभएर अहिलेको पुस्तालाई राजनीतिबारे जानकारी नै हुँदैन भन्नेहरूका लागि पनि चुनौती हुने देखिएको छ ।
पहिलोपटक जेनजी पुस्ताले राज्यसत्ताको विरोध गर्ने हिम्मत गरेसँगै अधिकांश मानिसले साथ र समर्थन जनाए । यस आन्दोलनलाई राजनीतिज्ञ, कलाकार तथा समाजमा लोकप्रियता कमाएका व्यक्तित्वले खुलेर समर्थन जनाएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, पूर्वगृहमन्त्री तथा राजनीतिज्ञ रवि लामिछाने, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङदेखि लिएर अधिकांश कलाकारसम्म यस अभियानमा ऐक्यबद्ध भएका छन् ।
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा उत्रिएका जेनजी काठमाडौंबाहिरका सबैजसो ठूला सहरमा प्रदर्शन गरे । पूर्वको बिर्तामोडदेखि पश्चिम धनगढीसम्मका ठूला सहरमा सोमबार बिहानैदेखि प्रदर्शन भएको हो । झापाको बिर्तामोड, सुनसरीको धरान र इटहरी, रौतहटको चन्द्रनीगाहपुर, पोखरा, बुटवलमा पनि प्रदर्शन भयो ।
यस्तै, पूर्वी नवलपारासीको सदरमुकाम कावासोती, सुदूरपश्चिम प्रदेश राजधानी धनगढी, भरतपुरमा पनि आन्दोलन भयो । काठमाडौं उपत्यकासहित अधिकांश ठाउँमा भएको आन्दोलनले उग्ररूप लियो । काठमाडौं उपत्यकाको बानेश्वर क्षेत्र रणभूमि नै बन्यो । जेनजी पुस्ताले राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा कार्यक्रम गर्ने जानकारी सरकारलाई पहिले नै जानकारी थियो ।
माइतीघरबाट सुरु हुने जुलुस बानेश्वर हुँदै संसद भवनसम्म पुग्छ भन्ने विषय पनि सरकारले राम्ररी बुझेको हुनुपर्छ । तर, पनि सरकारले यसलाई सामान्य आन्दोलन ठान्दा ठूलो घटना हुन पुग्यो । काठमाडौंमा भएको आन्दोलनको आह्वान दुई दिन अगाडि मात्रै गरेका थिए । उनीहरूले सामाजिक सञ्जाल ‘टिकटक’लाई अत्यधिक प्रयोग गरे । त्यसका साथै रेडिट र डिस्कर्डलगायतका नेटवर्क पनि प्रयोग भयो ।
सामाजिक सञ्जाल फेसबुकलाई पनि उनीहरूले प्रयोग गरे । तर, स्वःस्फूर्त उनीहरू प्रदर्शनमा सहभागी बनेका हुन् । जेनजी आन्दोलन केवल सामाजिक सञ्जालमा भाइरल बनेको ट्रेन्ड मात्र होइन, एउटा गहिरो सामाजिक तथा राजनीतिक चेतनाको संकेत भएको बताउँछन्, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य । प्राय आन्दोलनहरू संगठन, राजनीतिक दल वा नेतृत्वकर्ताको सक्रियतामा हुन्थ्यो ।
तर, जेन–जी आन्दोलनको खास विशेषता भनेको कुनै औपचारिक पार्टी संरचना वा परम्परागत नेतृत्वविहीन ढंगले चल्छ । युवा पुस्ताको आक्रोशलाई बेवास्ता गर्ने अभ्यास विगतमा राजनीतिक नेतृत्वले धेरै पटक गरेका छन् । आजको आन्दोलनले भने राजनीतिक नेतृत्वलाई एकपटक सोच्न बाध्य पार्ने उनी बताउँछन् ।
‘यो देशभित्र बस्ने र काम गर्ने वातावरण नै छैन,’ उनले भने, ‘जहाँ गए पनि भ्रष्टाचार छ । जन्मदर्तादेखि मृत्यु दर्तासम्म पैसा खुवाउनु पर्ने बाध्यता छ । बाउ–बाजेदेखि सुरु भएको निराशा आजसम्म आइपुग्दा अझ बढेको छ, यही कारण यो आन्दोलन उग्र रुप लिएको हो ।’ यो आन्दोलनले तत्कालै ठूलो संरचनात्मक परिवर्तन ल्याउँछ कि ल्याउँदैन भन्ने प्रश्न खुलै छ ।
तर, यसले समाजमा एउटा लहर र सचेतना पैदा गरेको उनी बताउँछन् । ‘आज जेन–जीले सडक तताएका छन्,’ राजनीतिक विश्लेषक आचार्य भन्छन्, ‘मलाई लाग्छ, यसले नेपालमा केही न केही फरक पार्छ । प्रशासनदेखि राजनीतिक नेतृत्वसम्म प्रभाव पार्नेछ ।’ गणतन्त्रपछिका झन्डै दुई दशकमा आलोपालो सत्तासीन नेताहरूको विगत र वर्तमान, तिनका सन्तान र आसेपासेको आकस्मिक वर्गउत्थानविरुद्ध युवापुस्तामा आक्रोश झल्किएको छ ।
यदि यो आवाजलाई सुनेर व्यवहारिक सुधार गरियो भने देशले नयाँ दिशा लिन सक्छ । बेवास्ता गरिएमा उनीहरूको प्रदर्शन अझ उग्र र संगठित आन्दोलनमा परिणत हुनसक्छ । सामाजिक सञ्जालमा सुरु भएको यो आक्रोश सडकबाट नतिजा निकाल्नेगरी आकारित हुन्छ वा हराउँछ । त्यसको जवाफ समयले दिनेछ । तर, आजको प्रदर्शनबाट संकेत मिलेको छ, अब जेनजी रोकिने वाला छैन ।
सत्यपाटी