२०८३ असार ३ , बुधबार 17, June 2026, Wednesday

काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म ‘जेनजी’ विद्रोह

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २३ गते सोमबार

सरकारले फेसबुक, ह्वाट्सएप लगायत २६ वटा सामाजिक सञ्जाल निस्क्रिय गरेपछि ‘जेनजी’हरुले काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन् । ‘जेनजी’हरुले बिहान ९ बजेदेखि नै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा तीन हजारको संख्यामा ‘जेनजी’हरु भेला भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए । ‘जेनजी समूहको प्रदर्शनका कारण माइतीघर क्षेत्रमा भिडभाड बढेको छ, सुरक्षा व्यवस्था कडा बनाइएको छ,’ बोहराले भने ।

युवाहरुले ‘फाइनल रिभोलुसन’ वा ‘इनफ इज इनफ’भन्ने नारासँग जोडेर देशव्यापी आन्दोलनको रूप दिइरहेका छन् । प्रदर्शन माइतीघर मण्डलामा केन्द्रित छ । ‘जेनजी’हरु स्वतन्त्र रुपमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका छन् । जसमा २८ वर्षमुनिका युवाहरूले भाग लिइरहेका छन् ।

प्रदर्शनमा सहभागी हुन स्कुल युनिफर्म र परिचय पत्र बोक्न आह्वान गरेका थिए । प्रदर्शनमा भाषणहरूको सट्टा गीत, कविता र मार्चहरू मात्र प्रस्तुत गरिने बताएका छन् । नेपालगन्ज, पोखरा, विराटनगर, बुटवल लगायत अन्य सहरहरूमा पनि प्रदर्शन भइरहेका छन् ।

राजनीतिक नेताहरूका सन्तानहरूको जीवनशैलीलाई जोडेर ‘जेनजी’हरुले सोसल मिडियामा ‘नेपो बेबी’ ट्रेण्ड चलाइरहेका छन् । ट्रेन्डिङ ह्यासट्यागहरूले युवाहरूलाई एकजुट बनाएका छ, यद्यपि प्रतिबन्धका कारण अनलाइन समन्वय कठिन बनेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फेसबुक पोस्टमार्फत् प्रदर्शनको समर्थन गरेका छन् । उनले भनेका छन्, ‘यो जेन जेडको स्वतःस्फूर्त आन्दोलन हो । म उमेर सीमाका कारण भाग लिन सक्दिनँ, तर पूर्ण समर्थन छ । राजनीतिक दलहरूले यसलाई आफ्नो फाइदाका लागि नअपनाऊन् ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रतिबन्धलाई तानाशाही’ भनेर विरोध गरेको छ । उक्त पार्टीका सभापति रवि लामिछानेले नख्खु कारागारबाटै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । कांग्रेस नेता डा.शेखर कोइरालाले युवाको आवाज सुन्न सरकारलाई चेतावनी दिएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले शान्तिपूर्ण प्रदर्शनलाई सुरक्षाकर्मीले बाधा नपुर्याउने बताएका छन् । १५ चैत २०८१ को तीनकुने घटनामा दुई जनाको मृत्युपछि काठमाडौंको प्रदर्शनमा सुरक्षा संवेदनशीलता बढेको छ ।

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार