२०८३ साउन १० , आइतबार 27, July 2026, Monday

नेपालगन्ज नाकाबाट एक हजार ५३८ महिला र बालबालिकाको उद्धार

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ भदौ २३ गते सोमबार

बाँकेको नेपालगन्जस्थित नेपाल-भारत जमुनाहा नाका मानव बेचविखनको उच्च जोखिममा रहेको पाइएको छ । जोखिममा रहेको नेपालगन्जस्थित नेपाल-भारत सीमा नाका जमुनाहाबाट गत एक वर्षको अवधिमा मात्रै बेचविखनको जोखिममा रहेका एक हजार ५३८ जनाको उद्धार गरिएको छ ।

नाकामा बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको माइती नेपाल नेपालगन्जका अनुसार जमुनाहा नाकाबाट उद्धार गरेर फिर्ता पठाइएका एक हजार ५३८ जना मध्ये ३३५ जना महिला तथा बालबालिका बाँके जिल्लाका मात्रै रहेका थिए ।

माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले आर्थिक वर्ष २०८१–०८२ मा कोहलपुरका ८० जना, बैजनाथका ६८, नेपालगन्जका ५६, खजुराका ४७, राप्तीसोनारीका ४५, जानकीका २०, नरैनापुरका १० र डुडुवाका नौ जना महिला तथा बालबालिकालाई जमुनाहा नाकाबाट उद्धार गरेर फिर्ता पठाइएको बताए ।

संयोजक कोइरालाका अनुसार गत वर्षको सोही अवधिमा हराएका महिला र बालबालिकाको खोजतलास तथा उद्धारका लागि ८३३ जनाको निवेदन परेकोमा ४३७ जना मात्र फेला परेका थिए । अन्यको खोजतलाश भइरहेको जनाइएको छ । ती मध्ये बाँके जिल्लाका मात्रै ११९ जना हराएको रहेकोमा ११४ जना फेला परेका थिए ।

संयोजक कोइरालाले सामाजिक सञ्जाल, इन्टरनेटको पहुँच लगायत आधुनिक प्रविधिका कारण मानव बेचबिखनको तरिका र बाटो फरक हुँदै गएकोले नियन्त्रणमा पनि चुनौती थपिँदै गएको बताए । उनले भारतीय सीमानासँग जोडिएका पश्चिम नेपालका दुई जिल्ला बाँके र बर्दिया मानव बेचविखनको उच्च जोखिममा रहेको पाइएको बताए ।

केही वर्ष पहिलेसम्म यी दुबै जिल्ला ट्रान्जिट प्वाइन्ट मात्रै रहँदै आए पनि हाल आएर यी जिल्लाबाटै बढी महिला तथा बालिका जोखिममा पर्ने गरेको र हराउने गरेको पाइएको माइती नेपाल नेपालगन्जले जनाएको छ । माइती नेपालको तथ्याङ्कमा जोखिममा पर्ने तथा हराउनेहरुमा ब्राम्हण क्षेत्री सबैभन्दा बढी देखिएका छन् । त्यसपछि दलित, जनजाति र आदिवासी छन् । उमेर समूह अनुसार १४ बर्षदेखि ४० वर्षसम्मका महिलाहरु बढी रहेको माइती नेपालले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार