नेपालमा अहिले नयाँ पुस्ताका युवा (जेनजी)हरू भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयका विरुद्ध सडकमा उत्रिएका छन् । काठमाडौंको माइतीघर मण्डलामा स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले सरकारविरुद्ध सशक्त प्रदर्शन गरिरहेका छन् ।
पहिले सामाजिक सञ्जालका पोस्टमा मात्र सीमित नेता र सरकारविरुद्धको आक्रोशलाई जेन जी पुस्ताले अब सडकमा उतारेको छ । उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
प्रदर्शनमा सहभागी कतिपय युवाहरू कलेज र स्कुल पोसाकमा समेत देखिएका छन् । यो आन्दोलनलाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्ति र स्वतन्त्र युवाहरूले समर्थन गरेका छन् । तर, जेन जी पुस्ताले आफ्नो आन्दोलनलाई गैर–राजनीतिक स्वरूप दिनका लागि पार्टी निकट भ्रातृ संस्थाहरूलाई भने सहभागी हुन रोक लगाएको छ ।


सत्यपाटी