२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

पाटन दरबार क्षेत्रमा बिछ्याइयो मल्लकालीन ‘तेल्या’ इँटा

विश्व सम्पदाको सूचीमा सूचीकृत ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याएपछि सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको हो ।

महानगरपालिकाले करिब एक करोड ५२ लाख रुपैयाँ लागतमा पुरानो चाइनिज इँटा हटाएर स्थानीयस्तरमा उत्पादित रैथाने ‘तेल्या’ इँटा बिछ्याइएको छ । यो इँटा मल्लकालदेखि प्रयोग हुँदै आएको परम्परागत प्रकारको इँटा हो, जुन बलियो, टिकाउ र सौन्दर्यपूर्ण मानिन्छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार तेल्या इँटा रैथाने इँटा हो, यो निकै चम्किलो र बलियो हुन्छ । ‘पुरानो इँटा काम नलाग्ने भएकाले सम्पदा संरक्षणका लागि नयाँ तेल्या इँटा बिछ्याएका हौँ,’ उनले भने ।

नगरप्रमुख महर्जनका अनुसार तत्कालिन राजा वीरेन्द्र शाहको राज्याभिषेकको समयमा चाइनिज इँटा बिछ्याइएको थियो, जुन समयसँगै जीर्ण भइसकेको थियो । त्यही इँटा हटाएर अहिले तेल्या इँटा राखिएको छ । जसले पानी जम्न नदिने र सफा देखिन्छ । इँटा राखिएपछि सम्पदा क्षेत्रको सतह पनि करिब चार इञ्च अग्लो भएको छ । स्थानीय उपेन्द्रकुमार श्रेष्ठले महानगरपालिकाले अत्यन्त सकारात्मक काम गरेको बताए ।

‘पुरानो इँटाका कारण पाटन दरबार क्षेत्र फोहर देखिन्थ्यो’, उनले भने, ‘अहिले त निकै चम्किलो र सफा देखिन्छ । सफा गर्न पनि सजिलो छ, पानी जम्ने समस्या पनि छैन । निकै राम्रो काम भएको छ ।’ ललितपुर महानगरले ऐतिहासिक सम्पदाको संरक्षणसँगै क्षेत्रमा पर्यटकको आकर्षण बढाउने प्रयास गरिरहेको छ । महानगरले दरबार क्षेत्रको मर्मत र पुनर्निर्माणलाई निरन्तरता दिइरहेको छ ।

प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार