२०८३ भदौ २१ , आइतबार 7, September 2026, Monday

आज खग्रास चन्द्रग्रहण, नेपालबाट पूर्ण अवलोकन गर्न मिल्ने

यही भाद्र शुक्ल पूर्णिमाका दिन अर्थात् आज आइतबार (सेप्टेम्बर ७–८) लाग्ने खग्रास चन्द्रग्रहणले नेपाललगायत एसियाका धेरै भागमा रोमाञ्चकता थपेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार यो ग्रहण राति १०ः११ बजे स्पर्श भई ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे मोक्ष हुनेछ । कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट हुनेछ । यो दुर्लभ खगोलीय घटनालाई सुरुदेखि अन्त्यसम्म प्रत्यक्ष अवलोकन गर्न सकिनेछ ।

ज्योतिषीय प्रभाव र सावधानी

ज्योतिषशास्त्रका अनुसार चन्द्रग्रहणले विभिन्न राशिमा भिन्न–भिन्न प्रभाव पार्नेछ । मेष राशि भएकालाई लाभ, वृषलाई शुखम्, धनुलाई श्रीप्राप्ती र कन्यालाई सौख्यम् हुनेछ । यद्यपि, मिथुनलाई माननाश, कर्कटलाई कष्टम्, सिंहलाई स्त्रीपीडा, तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएका मानिसलाई व्यय हुने योग रहेको छ । यस आधारमा मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशि भएकाले ग्रहण अवलोकन गर्नु उचित नहुने ज्योतिषीय मान्यता छ । विशेषगरी, शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्म भएका र कुम्भ राशि भएका मानिसहरूका लागि यो ग्रहणले अति कष्ट दिने सम्भावना रहेको छ ।

धार्मिक मान्यता र निषेध

धार्मिक ग्रन्थहरूमा ग्रहणकाललाई विशेष सावधानी अपनाउनुपर्ने समयका रूपमा लिइन्छ । आज दिउँसो १ः११ बजेदेखि सुतक लाग्ने भएकाले बालबालिका, वृद्ध र रोगीबाहेक अन्यलाई भोजन निषेध गरिएको छ । ग्रहण अवधिमा हवन, मन्त्रजप, दानजस्ता शुभ कार्यहरूलाई उत्तम मानिन्छ भने सुत्ने, खानपिन गर्ने, मैथुन गर्ने, तेल लगाउने, कसैलाई बाँध्ने वा मार्ने जस्ता कार्यहरू पूर्णतः निषेध गरिएका छन् । धर्मसिन्धु, निर्णयसिन्धु लगायतका शास्त्रीय ग्रन्थहरूमा उल्लेख छ

‘निद्रायां जायते व्याधि मूत्रे दारिद्रयमाप्नुयात् । पुरीषे कृमियोनिश्च मैथुने ग्रामसूकरः ।। अभ्यञ्जने भवेत् कुष्ठी भोजने स्यादधोगति । वन्धनं च भवेत् सर्पः वधे च नरकं व्रजेत् ।।’

यसको अर्थ सुते रोगी हुने, दिसा गरे कीरा योनीमा जन्म, पिसाब गरे दरिद्रता, मैथुन गरे गाउँको सुँगुर भई जन्मनुपर्ने, तेल लगाए कुष्ठरोगी, भोजन गरे अधोगति, कसैलाई बन्धनमा राखे सर्प योनीमा जन्म र मारे नरकमा पर्नुपर्ने बताइएको छ ।

वैज्ञानिक दृष्टिकोण : अवलोकनको अवसर

वैज्ञानिक दृष्टिकोणले भने चन्द्रग्रहण पूर्णतया हानिरहित घटना हो । यसलाई खुला आँखाले हेर्दा कुनै पनि किसिमको नकारात्मक असर नपर्ने वैज्ञानिकहरू स्पष्ट पार्छन् । बरु, खगोलप्रेमी र विद्यार्थीहरूका लागि यो ग्रहण अवलोकन, अध्ययन र अनुसन्धानका लागि एउटा दुर्लभ र महत्वपूर्ण अवसर बन्नेछ । यो एक प्राकृतिक प्रक्रिया हो जसले पृथ्वी, सूर्य र चन्द्रमाको विशिष्ट अवस्थालाई दर्शाउँछ ।

प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार