२०८२ चैत १ , आइतबार 16, March 2026, Monday

स्मार्ट लाइसेन्स छपाइमा ढिलाइ, सवारीको विद्युतीय अभिलेख सुस्त

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २१ गते शनिबार

सुरक्षण मुद्रण केन्द्रले छाप्ने भनेको ३० लाखप्रति सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) पनि ढिलाइ हुने भएको छ । असार मसान्तदेखि छाप्ने भनेर यातायात व्यवस्था विभाग र केन्द्रबीच जेठमा सम्झौता भए पनि अहिलेसम्म छपाइ सुरु भएको छैन । केन्द्रले छाप्ने समय असारबाट असोज १ गते पुर्याएको छ ।

असार मसान्तमा नमुना प्रिन्ट गरेर विभागलाई दिए पनि नमुना पास भएको छैन । छलफलमै रहेको विभागले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले भने, ‘लाइसेन्सको नमुना प्रिन्ट गरेर दिएका छौँ । नियमित छपाइ भने असोज १ गतेदेखि गर्ने तयारीमा छौँ । त्यसपछि छपाइको काम निरन्तर हुन्छ ।’

सम्झौता अनुसार यातायात व्यवस्था विभागमा बर्सौंदेखि छाप्न बाँकी रहेका ३० लाख लाइसेन्स केन्द्रले छाप्ने हो । केन्द्रले सेक्युरिटी प्रिन्टरले छाप्ने तयारी गरेको छ । ढुङ्गानाले भने, ‘हामीसँग उपलब्ध मेसिनले छाप्ने हो । फिचरमा केही घट्न सक्छ तर गुणस्तर घट्दैन ।’ निर्देशक ढुङ्गानाका अनुसार केन्द्रले दैनिक तीन हजार प्रति छाप्नेछ ।

महिनामा एक लाखप्रति छपाइ हुनेछ । विभागले हाल अत्यावश्यक मात्र छपाइ गर्दै आएको छ । ३० लाख प्रति लाइसेन्स केन्द्रले छाप्ने र नियमित लाइसेन्स प्रदेश सरकारबाट छपाइ हुने भएकाले विभागले थप पहल नगरेको विभागका सूचना अधिकारी गणेशमानसिं राईले जानकारी दिए । २०७२ सालदेखि लागु भएको स्मार्ट लाइसेन्स लागु भएदेखि छाप्ने काम बाँकी छ ।

समस्या समाधानका लागि गत भदौमा कर तिरेको रसिदमै क्युआर कोड र फोटो राखिने भनिए पनि कार्यान्वयन हुन सकेको छैन । लाइसेन्सलाई नागरिक एपमा संलग्न गरी छुट्टै कार्ड प्रिन्ट नगर्ने व्यवस्था पनि गरिएको थियो तर त्यो पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको विभागले जनाएको छ ।

बागमती प्रदेश सरकारले काठमाडौँका यातायात कार्यालयबाट लाइसेन्स छाप्नका लागि मेसिन खरिद गरिसकेको छ । यातायात सेवा कार्यालय एकान्तकुनाका अनुसार उपत्यकामा तीन वटा मेसिन आएका छन् । यातायात कार्यालय गुर्जुधारा, भक्तपुर र एकान्तकुना कार्यालयबाट छपाइ गर्ने गरी तयारी भएको छ ।

प्रदेश सरकारले दसैँलगत्तै लाइसेन्स छापेर वितरण गर्ने तयारी गरेको एकान्तकुना कार्यालयका प्रमुख केशवकुमार जिएमले बताए । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले चितवन, हेटौँडा र काठमाडौँ उपत्यका गरी पाँच स्थानबाट लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको छ ।

सवारीको विद्युतीय अभिलेख गतिहीन

सवारीसाधनको विद्युतीय अभिलेखीकरण (डिजिटाइजेसन)ले गति लिन सकेको छैन । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले दुई वर्षमा सम्पन्न गर्ने गरी सुरु गरेको डिजिटाइजेसन पाँच महिनामा जम्मा एक लाख ५४ हजार ८९६ वटा सवारीमा सम्पन्न गरेको छ । मन्त्रालयका अनुसार बागमतीमा झन्डै २२ लाख सवारीसाधन छन् ।

यही गतिमा काम भयो भने वर्षमा पाँच लाख सवारी पनि डिजिटाइजेसन गर्न गाह्रो छ । मन्त्रालयका अधिकृत खगेन्द्र पौडेलले भने, ‘दुई वर्षमा सम्पन्न गर्ने उद्देश्य हो । सुरुका दिनमा भन्दा गति बढेको छ । बानी पर्दै गएपछि बढ्छ नै । थप जनशक्तिको व्यवस्थापन पनि हुन्छ ।’

डिजिटाइजेसनको काम काठमाडौँ उपत्यकामा यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सानाठुला सवारी र यातायात व्यवस्था कार्यालय गुर्जुधाराले मोटरसाइकलको गरिरहेका छन् । गुर्जुधाराले हालसम्म ७६ हजार ४४ सवारीको डिजिटाइजेसन गरेको छ । एकान्तकुना कार्यालयले ५२ हजार ८४५ सवारी गरेको छ ।

हेटौँडा र भरतपुरबाट पनि डिजिटाइजेसनको काम भएको पौडेलले जानकारी दिए । यातायात सेवा कार्यालय भरतपुरले १९ हजार ५७३ र हेटौँडा कार्यालयले सात हजार ४३४ सवारी डिजिटाइजेसन गरेका छन् । ज्यालादारी कर्मचारी राखेर डिजिटाइजेसनलाई तीव्रता दिइएको एकान्तकुना कार्यालयका प्रमुख पवित्र कुँवरले जानकारी दिए ।

गुर्जुधारा कार्यालयले पनि ५० जना ज्यालादारी कर्मचारी राखेर अभिलेखको काम गरिरहेको छ । गुर्जुधाराले दुईपाङ्ग्रे र एकान्तकुना कार्यालयले चारपाङ्ग्रे सवारीको अभिलेख राखेका छन् । अभिलेख नागरिक एपबाट पनि हेर्न सकिनेछ । विद्युतीय अभिलेख भएपछि कर चुक्ता लगायतका जानकारी अनलाइनमै उपलब्ध हुनेछ ।

कागजात बोकिरहन पर्दैन । पौडेलले भने, ‘एकीकृत अनलाइन डाटा उपलब्ध हुन्छ । नियन्त्रण र नियमन अनलाइनबाट हुन्छ ।’ लगत कट्टालगायत २० वर्ष पुराना सवारीलाई पत्रु बनाउनु पनि अनलाइन अभिलेखबाट सहयोग हुने मन्त्रालयको दाबी छ ।

प्रकाशित मिति : २०८२ भदौ २१ गते शनिबार