२०८३ साउन २ , शनिबार 18, July 2026, Saturday

अब नेपालगन्जमा दौडिनेछ ‘एनिमल एम्बुलेन्स’

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ भदौ २० गते शुक्रबार

दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरहरुलाई अस्पताल वा सेल्टरसम्म पुर्याउन सहज होस भन्ने उद्देश्यले एनिमल नेपालले नेपालगन्ज उपमहानगरपालिकालाई ‘एनिमल एम्बुलेन्स’ हस्तान्तरण गरेको छ । घाइते पशुको उद्धारका लागि नेपालगन्जमा भित्रिएको यो पहिलो ‘एनिमल एम्बुलेन्स’ हो ।

एनिमल नेपालका अध्यक्ष शोभा रायमाझीले नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई एम्बुलेन्स हस्तान्तरण गरे । ‘एनिमल एम्बुलेन्स’ हस्तान्तरण गर्दै एनिमल नेपालका अध्यक्ष रायमाझीले नेपालगन्जका विभिन्न स्थानमा चौपाया दुर्घटनामा परी वा बिरामी भएर घाइते भएका चौपायाको उद्धार गर्न समस्या हुने गरेको गुनासाहरु बढेपछि यो एम्बुलेन्स हस्तान्तरण गरिएको बताए ।

एम्बुलेन्स ग्रहण गर्दै नगर प्रमुख विष्टले ‘एनिमल एम्बुलेन्स’को सहायताले विभिन्न कारणले दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त पशुहरुलाई अब अस्पताल वा सेल्टरसम्म पुर्याउन सहज हुने बताए । उनले छाडा चौपाया सडकमा दुर्घटनामा परेर घाइते भएपछि उनीहरुको उद्धारमा समस्या आउने गरेकोमा अब सो समस्या समाधान हुने विश्वास पनि व्यक्त गर्दै यसको अधिकतम् उपयोग गरिने बताए ।

उनले घाइते पशुको उद्धार र ब्यवस्थापनमा ‘एनिमल एम्बुलेन्स’ले सजिलो बनाउने विश्वास ब्यक्त गरे । नगर प्रमुख विष्टले पशुको उद्धार र ब्यवस्थापन कसरी गर्ने भन्ने बाध्यताको अन्त्य हुने बताए । नेपालगन्ज उपमहानगरपालिकाको पशु शाखा प्रमुख अच्युत गौतमले एम्बुलेन्सको अधिकतम उपयोग गरिने प्रतिबद्धता व्यक्त गर्दै सो अवसरमा पशुको उद्धार र व्यवस्थापनमा ‘एनिमल एम्बुलेन्स’ले सजिलो बनाउने बताए ।

घाइते भएका पशुलाई काँधमै वा सामान्य गाडी, ट्रकमा बोकेर बासस्थानसम्म पुर्याउनुपर्ने बाध्यता हट्ने पनि उनले बताए । एनिमल एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरका नगर उपप्रमुख कमरुद्दिन राई, पशु शाखाका पशु चिकित्सक डा.आशिष थारु, एनिमल नेपालका डा.अतिश यादव, डा.सजना थापा लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८२ भदौ २० गते शुक्रबार