करौंडौं प्रयोगकर्ताका डेटा थुपारेर गोपनियता उल्लंघन गरेको मामिलामा अमेरिकाको एक संघीय अदालतले गुगललाई साढे ४२ करोड डलर जरिवाना तिर्न आदेश दिएको छ । आफ्नो गुगल खातामा प्रयोगकर्ताले ट्र्याकिङ फिचर अफ गर्दा गर्दै पनि कम्पनीले डेटा संकलन गरेको पाइएपछि यो जरिवाना तिराइएको हो ।
कम्पनीले प्रयोगकर्ताको मोबाइल उपकरणमा पहुँच बनाएर आफ्नो डेटा जम्मा पारेको, सेभ गरेर राखेको अनि त्यसलाई प्रयोग गरेको दाबी गर्दै प्रयोगकर्ताले कम्पनीमाथि हालेको मुद्दाको सुनवाइ गर्ने क्रममा यो फैसला आएको हो ।
यस मुद्दामा प्रयोगकर्ताले ३१ अर्ब डलरभन्दा बढीको क्षतिपूर्ति माग गरेका थिए । यो निर्णयले कम्पनीको प्रडक्टले कसरी काम गर्छ भन्ने कुरा गलत तरिकाले बुझेको भन्दै यसको विरुद्ध पुनरावेदन अदालतमा जाने गुगलले बताएको छ ।
‘हाम्रो प्राइभेसी टूलले प्रयोगकर्तालाई उनीहरूको डेटामा नियन्त्रण दिन्छ र उनीहरूले पर्सनलाइजेसन अफ गर्छन् भने हामीले यो छनोटको सम्मान गर्छौँ,’ गुगलको प्रवक्ताले बीबीसीलाई भने । यस मामिलामा गोपनट्यठता उल्लंघनको तीन मध्ये दुई मामिलामा जुरीले कम्पनीलाई दोषी पाएका थिए ।
आफूले कुनै गलत काम नगरेको कम्पनीको दाबी थियो । यो सामूहिक मुद्दाले गुगलका ९ करोड ८० लाख प्रयोगकर्ता र १७ करोड ४० लाख वटा उपकरणलाई समेटेको छ । मुद्दा २०२० को जुर्लामा दायर भएको थियो । यूबर, लिफ्ट, अलिबाबा, एमाजन, इन्ष्टाग्राम र फेसबुक जस्ता दशौं हजार एपबाट गुगलले प्रयोगकर्ताको डेटा लिएको दाबी वादीहरूको थियो ।
सत्यपाटी