सरकारले फेसबुक, एक्स, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा अहिले भर्खरै सम्पन्न बैठकले उक्त निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको हो ।
सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले यसअघि एकसाताको समय उपलब्ध गराउँदै सूचीकरणको लागि आह्वान गरेको थियो । सञ्चार मन्त्रालय स्रोतका अनुसार भर्खरै यो निर्णय भएको छ । ‘अहिले भर्खरै निर्णय भएको हो,’ ती अधिकारीले भने, ‘केहीबेरमा विज्ञप्ति सार्वजनिक हुनेछ ।’ नेपालमा फेसबुक, युट्युब, ट्विटर लगायतका सामाजिक सञ्जाल सूचीकरण भएका छैनन् ।
ती सामाजिक सञ्जालहरूले नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा क्रमशः खोलिदिने निर्णय भएको स्रोतको भनाइ छ । यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्स लगायत इन्टरनेट ब्राउजरबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन तथा नियमनका लागि आवश्यक कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरेको थियो ।
