सशस्त्र द्वन्द्वको घाउ आज पनि बाँकेका धेरै महिलाको जीवनमा ताजै रहेको छ । आफ्ना श्रीमान् हराएको पीडा बोकेर यहाँका धेरै महिला ‘सास वा लास’को प्रतीक्षामा बसिरहेका छन् । डुडुवा गाउँपालिका–५ का सीता केसीका श्रीमान् २४ वर्षदेखि बेपत्ता छन् । कमाउन नेपालगन्ज निस्किएका उनी तत्कालीन विद्रोही माओवादीले बाटैबाट उठाएर लगेपछि कहिल्यै फर्किएनन् ।
सीता सम्झन्छिन्, ‘बेपत्ता पार्नुभन्दा तीन महिनाअघि पनि लगिएको थियो तर फर्किनुभयो । दोस्रो पटक लग्दा भने फर्कन पाउनुभएन ।’ त्यसैगरी कोहलपुर नगरपालिका–१५ का कमाली थारूका श्रीमानलाई तत्कालीन शाही नेपाली सेनाले २०५९ वैशाख ४ गते राति घरैबाट उठाएर लग्यो । कमाली भन्छिन्, ‘किन लग्यो, कहाँ लग्यो भन्ने आजसम्म थाहा छैन ।’
दुई दशकपछि पनि आफ्ना श्रीमान् आउने आशा उहाँमा मरेको छैन । बाँके बैजनाथ–४ का धनियाँ थारू पनि त्यस्तै पीडामा छन् । २०५९ भदौ १४ गते श्रीमानलाई सेनाले उठाएर लगेपछि न सासको खबर छ, न लासको । उनी भन्छिन्, ‘म आशा र निराशाबिच झुलिरहेकी छु ।’ कोहलपुर–५ का खगिसरा पाठकका श्रीमानलाई त प्रहरीले २०५५ सालमा लगेको हो ।
तीन दशकनजिक पुग्दा पनि उनी न्यायको खोजीमै छिन् । उनले दुःखेसो पोख्दै भनिन्, ‘मलाई मेरो मान्छेको खबर राज्यले दिनैपर्छ, नत्र आत्माले शान्ति पाउँदैन ।’ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशका अनुसार द्वन्द्वकालमा बाँके जिल्लाबाट मात्र ६२ जना बेपत्ता भए । त्यसैगरी १४ जना अपाङ्गता भएका र २८४ जनाको हत्या भएको तथ्याङ्क छ । संयोजक भोला महतले कुल ३६० जना पीडितमध्ये २२७ महिला र ३३ पुरुष रहेका बताए ।
मानव अधिकार आयोग नेपालगन्ज कार्यालयमा मात्र १५० भन्दा बढी बेपत्ता सम्बन्धी उजुरी दर्ता भएका छन् । आयोगका निमित्त कार्यालय प्रमुख दयाराम पाठकका अनुसार उजुरीको अनुसन्धान भइरहेको छ । राज्यले द्वन्द्वपीडितलाई न्याय दिन दुई वटा आयोग गठन गरे पनि पीडित परिवारमा चिन्ता हटेको छैन । सीता, कमाली, धनियाँ र खगिसरा जस्तै सयौँ महिलाको साझा प्रश्न एउटै छ, ‘हामीलाई हाम्रा श्रीमान् फर्काइदेऊ, नत्र कम्तीमा सत्य त बताइदेऊ ?’
सत्यपाटी