गोरखामा पर्व समय सुधार राष्ट्रिय समाजले भदौमै दसैं मनाएको छ । पर्व सुधार अभियानमा लागेको समाजको अगुवाइमा मंगलबार तीन पालिकाका विभिन्न गाउँबस्तीमा टीका जमरा लगाएर विजया दशमी मनाइएको हो । सिरानचोक गाउँपालिका, गोरखा नगरपालिका र पालुङ्टार नगरपालिकाका गाउँबस्तीहरूमा मंगलबार विजया दशमी मनाइएको हो ।
सो समाजले परम्परागत पात्रोहरूमा उल्लेख गरिएको भन्दा एक महिनाअघि गत भदौ ८ गते घटस्थापना गरी जमरा राखेको समाजकी अध्यक्ष तुलसा मरहट्टाले जानकारी दिइन् । सिरानचोक गाउँपालिकाको श्रीनाथमण्डली देवीथानमा विधिवत् जमरा राखिएको थियो । साथै समाजकै आह्वानमा सो अभियानमा आबद्ध भएकाहरूले घरघरमा पनि जमरा राखेका उनले बताइन् ।
भदौ १४ गते विधिवत फूलपाती र १५ गते अष्टमी पूजासमेत गरेको पर्व सुधार समाजका अध्यक्ष मरहट्टाले जानकारी दिइन् । ‘८ गते सिरानचोकको श्रीनाथमण्डली देवीथानमा विधिपूर्वक जमरा राखेर घटस्थापना ग¥यौँ । १५ गते महाअष्टमीमा देवीथानको मौलामा बलि चढाएर पूजा गर्यौं,’ उनले भनिन्, ‘१७ गते मंगलबार टीका, जमरा लगाएर मान्यजनबाट आशीर्वाद ग्रहण गरी विजया दशमी मनायौं ।’
सिरानचोक गाउँपालिका अन्तरगतका सबै विद्यालयहरू, गोरखा सदरमुकामका सबै विद्यालयहरू र पालुङटार नगरपालिकाका केही विद्यालयहरूमा पनि विजयदशमी मनाएको उनको भनाइ छ । साबिकको भन्दा एक महिनाअगावै दसैं मनाउन पर्व सुधार समाजलाई सिरानचोक गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
‘खगोल विज्ञानलाई आधार मानेर २४ घण्टाको एक दिन भनिए पनि ३.२७ सेकेन्ड समय अपुग हुन्छ,’ समाजका सचिव किशोर रेग्मीले भने, ‘दिनदिनै यति समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुने भएकाले दसैं एक महिनाअघि सरेको हो ।’ सिरानचोक गाउँपालिका १, २, ४ र ५ का विभिन्न टोलमा सामूहिक रूपमा टीका र जमरा लगाएर दसैं मनाइएको छ । समाजले विगत १८ वर्षदेखि साबिक दसैंभन्दा एक महिनाअघि नै दसैं मनाउने गरेको छ ।
