२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

दैजी-जोगबुढा सडक, आठ वर्षमा पाँच किमी कालोपत्रे

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ भदौ १४ गते शनिबार

कञ्चनपुर र डडेल्धुराको भित्री मधेश जोड्ने दैजी जोगबुढा सडक आठ वर्षमा पाँच किलोमिटर मात्रै कालोपत्र भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीदेखि डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम्म १२ किमी सडक निर्माणका लागि २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौताअनुसार २०७६ साउन ५ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म सडक निर्माणले पूर्णता पाएको छैन । हालसम्म सडक निर्माणका लागि पाँच पटक म्याद थप भएको छ । सडक निर्माणका लागि पछिल्लो पाचौँ पटक २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको भए पनि सडक निर्माण हुन नसकेको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ ।

गत आर्थिक वर्षमा सडक निर्माणको काम नहुँदा एक करोड बजेट फ्रिज भएको थियो । कार्यालयका सूचना अधिकारी लक्ष्मणराज जोशीले सडक निर्माणका लागि हालसम्म पाँच पटक म्याद थप गरिएको भए पनि सडक निर्माण सम्पन्न हुन नसकेको गरिएको जानकारी दिए । ‘अहिलेसम्म पाँच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ,’ उनले भने, ‘सात किमी सडक निर्माणको काम बाँकी नै छ ।’

उनका अनुसार निर्माण व्यवसायीले हालसम्म १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ । निर्माण व्यवसायीले दुई करोड ९० लाख भुक्तानी पाउन मात्रै बाँकी छ । कञ्चनपुरबाट डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त सडक निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेको छ । पञ्चायतकालमा शुरु भएको सडक अहिलेसम्म पनि निर्माण हुन नसकेको स्थानीय केशव बोहराले बताए ।

उनले भने, ‘यो सडक निर्माण नहुँदा आमीले धेरै दुःख पाएका छौँ, हिउँदमा धुलाम्य हुन्छ वर्षादमा ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ ।’ ३१ किमी सडक निर्माण नहुँदा यहाँका स्थानीय १५० किमी घुमाउरो बाटो प्रयोग गर्नुपरेको गुनासो उनले गरे । डडेल्धुराको भित्री मधेशलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको विकल्पको रूपमा छ ।

प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार