२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

घरजग्गा कारोबार गर्दा अब लाइसेन्स अनिवार्य, कति शुल्क तिर्नुपर्छ ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १३ गते शुक्रबार

सरकारले मालपोत नियमावली सशोधन गरेको छ । २०३६ सालमा बनेको नियमावलीलाई बल्ल अहिले सरकारले संशोधन गर्दै घरजग्गा कारोबार गर्दा लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको हो ।

नियमावलीको परिच्छेद–६ को (ख)मा घरजग्गा कारोबारको इजाजतपत्र सम्बन्धी व्यवस्था राखिएको छ । सो व्यवस्था अनुसार अब घरजग्गा व्यवसाय गर्नेले इजाजतका लागि निवेदन दिनुपर्नेछ ।

राजपत्रमा प्रकाशित सूचना अनुसार प्राकृतिक र कानूनी व्यक्ति वा कानूनी व्यक्तिहरू बीच घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिन चाहने व्यक्तिले एकपटकमा पाँच करोड रूपैयाँसम्म कारोबार गर्ने व्यक्तिको हकमा पाँच लाख रूपैयाँ चाहिने व्यवस्था गरिएको छ ।

त्यस्तै एकपटकमा पाँच करोड रुपैयाँ भन्दा घटी वा बढी जतिसुकै रकमको घरजग्गा कारोबार गर्ने व्यक्तिको हकमा दश लाख रूपैयाँ तोकिएको छ । त्यस्तै त्यस्तो लाइसेन्स नविकरणका लागि समेत शुल्क तोकिएको छ ।

इजाजतपत्र प्राप्त व्यक्तिले इजाजतपत्रको अवधि समाप्त हुनुभन्दा पैतिस दिन अगावै नवीकरण बापत उपनियम (१) को खण्ड (क) बमोजिमको कारोबार गर्नेको हकमा चार लाख रूपैयाँ लाग्नेछ ।

खण्ड (ख) बमोजिमको कारोबार गर्नेको हकमा आठ लाख रूपैयाँ दस्तुर तोकिएको छ । घरजग्गा कारोबार गर्दा गलत सूचना, नक्सा, मूल्य वा स्वामित्व सम्बन्धी झुटो विवरण प्रस्तुत गर्न बन्देज लगाइएको छ ।

त्यस्ता कम्पनीले इजाजतपत्र स्पष्टरूपमा देखिने गरी कार्यालय वा कारोबार स्थलमा राख्नुपर्नेछ भने घरजग्गाको कारोबार सम्बन्धी अभिलेख राखी प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र विभागमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, निरीक्षण वा सुपरीवेक्षणका क्रममा इजाजतपत्र दिने अधिकारी वा निजको अधिकार प्राप्त व्यक्तिले माग गरेको विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था समेत नियमावलीमा गरिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार