२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

मङ्गल ग्रहका भित्री भागमा पुरानो चट्टानी टुक्राहरू अझै सुरक्षित

मङ्गल ग्रहका म्यान्टल (भित्री तह)मा आज पनि चार किलोमिटरसम्म फैलिएका ठूला–ठूला ढुङ्गाका टुक्राहरू रहेको पाइएको छ, जसले ग्रहको प्रारम्भिक अवस्थाबारे महत्त्वपूर्ण जानकारी दिएको छ । यो खोज हालै प्रकाशित वैज्ञानिक अध्ययनबाट सार्वजनिक गरिएको हो । अनुसन्धानमा उल्लेख भए अनुसार करिब चार अर्ब ५० करोड वर्षअघि मङ्गलमा भएका विशाल आकाशीय आघातहरूका कारण ग्रहको सतह र भित्री भाग पग्लिएर म्याग्माको ठूलो सागर बनेका थिए ।

सो समयमा मंगलकै चट्टानी भागहरू गहिरो भित्रसम्म पुरिएका थिए र ती अझैसम्म पनि म्यान्टलमा बिच्छिएको अवस्थामा भेटिएका छन् । नासाको ‘इन्साइट नामक यान’ले सन् २०१८ मा मङ्गलको सतहमा पहिलोपटक भूकम्प मापन यन्त्र राखेर अनुसन्धान सुरु गरेको थियो । सन् २०२२ सम्मको अवधिमा इन्साइटले एक हजार ३१९ वटा ‘मङ्गल–भूकम्प’ मापन गर्यो, जसका आधारमा वैज्ञानिकहरूले ग्रहको गहिराइमा रहेका संरचनाहरूको विश्लेषण गर्न सकेको हो ।

अनुसन्धानका प्रमुख वैज्ञानिक कन्स्टान्टिनोस करालाम्बोसका अनुसार, ‘हामीले अहिलेसम्म कुनै पनि ग्रहको भित्री भागलाई यति सूक्ष्म रूपमा अवलोकन गरेका थिएनौँ । मङ्गलको म्यान्टलमा प्राचीन कालका ढुङ्गाका टुक्राहरू अझै पनि सुरक्षित रहनु ग्रहको ढिलो विकास भएको प्रमाण हो । पृथ्वीमा यस्ता संरचनाहरू समयसँगै हराइसकेका हुन सक्छन् ।’ वैज्ञानिकहरूका अनुसार, यस्ता खोजहरूले न केवल मङ्गलको इतिहास बुझ्न सहयोग गर्छ, तर अरू ग्रहहरूको बनावट तथा विकासक्रमबारे पनि नयाँ ज्ञान दिन सक्छ ।

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार