नेपाल प्रहरीको ३२ औं महानिरीक्षक (आइजीपी) मा एआइजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आइजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआइजी थिए । वर्तमान आइजीपी दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन् त्यसपछि खापुङको नियुक्त लागू हुनेछ । नवनियुक्त आइजीपी खापुङले अगामी भदौ १९ गतेदेखि कार्यभार सम्हाल्ने बताइएको छ ।
खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा प्रमुख छन् । प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शनिबार) छिमेकी राष्ट्र चीन भ्रमणमा जाँदैछन् । चीन भ्रमणमा जानुपर्ने भएकाले केही दिनअघि नै नयाँ आइजीपी नियुक्त गरिएको हो । ३२ औं आइजीपीका लागि आफ्नो ब्याचको एकल प्रतिस्पर्धामा थिए चन्द्रकुवेर खापुङ । खापुङले अहिलेका आइजीपी थापासँगै इन्स्पेक्टर भर्नाका लागि फारम भरेका थिए ।
तर, सँगै भर्ना भएका यो ब्याचका इन्स्पेक्टरहरूलाई तीन लटमा नियुक्ति दिइयो । पहिलो लटमा ५ चैत २०५१ मा नियुक्ति लिइएका ५३ जनामध्येबाट यसअघि नै बसन्तबहादुर कुँवर आइजी भएर ५ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका थिए । दोस्रो लटमा १९ भदौ २०५२ मा नियुक्ति लिएहरूमध्येबाट सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा आइजीपी बने ।
उनी पनि १८ भदौमा अवकाशमा जाने भएपछि तेस्रो लटमा नियुक्त भएका खापुङ अहिले एकल प्रतिस्पर्धामा छन् । उनीसँगै तेस्रो लटमा नियुक्त भएका लालमणि आचार्य गत १० जेठमा ५६ एआइजीको ५६ वर्षे उमेर हदले अनिवार्य अवकाशमा गइसकेका छन् । खापुङसँगै इन्स्पेक्टरमा नियुक्त भएका अर्का एआइजी कृष्णहरि शर्मा पोखरेल पनि एआइजीको ५६ वर्षे उमेर हदका कारण १५ भदौमा अनिवार्य अवकाशमा जाँदैछन् ।
हाल प्रशासन विभाग प्रमुखको रूपमा रहेका पोखरेल पनि अवकाशमा जाने निश्चित रहेकाले खापुङ आफ्नो ब्याचका एकल प्रतिस्पर्धीको रूपमा छन् । आफ्नो ब्याचका एकल प्रतिस्पर्धी खापुङ आइजीपी बनेको अवस्थामा उनी प्रहरीको इतिहासमै दोस्रो सबैभन्दा कम समय नेतृत्वमा रहनेछन् । उनको पालामा पनि नयाँ ऐन जारी नभएको अवस्थामा विद्यमान प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी आगामी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानेछन् ।

दुई महिना नौं दिनका लागि उनी आइजी बन्नेछन् । यसअघि प्रहरीको इतिहासमा सबैभन्दा कम समयका लागि तोरणशमशेर जबरा प्रहरी प्रमुख बनेका थिए । २८ चैत २०१२ मा आइजीपी बनेका उनी ३१ चैत २०१२ सम्म आइजीपी बनेका थिए । अच्युतकृष्ण खरेल भने दुई कार्यालय आइजीपी बनेकोले उनको कार्याकाल लामो मानिन्छ । पहिलोपटक उनी २०५३ फागुनदेखि चैतसम्म गरी ३६ दिन आइजीपी बनेका थिए ।
दोस्रो पटक २०५४ मंसिरदेखि २०५७ असोजसम्म आइजीपी बनेकाले खरेलको कार्यकाल लामो मानिन्छ । अहिलेकै अवस्थामा खापुङ आइजीपी भएर अवकाशमा गएमा उनी प्रहरी इतिहासकै दोस्रो छोटो समयका लागि आइजीपी बन्नेछन् । खापुङले डीआइजी हुँदा कोशी प्रदेशको कमान्ड सम्हालेका थिए । त्यसअघि एसएसपी रहँदा उनले निकै चुनौतीपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेका थिए । खापुङ प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रूपमा चिनिन्छन् ।
उनी अहिलेसम्म कुनै ठूलो विवादमा परेका छैनन् । खापुङ आइजीपी भएको अवस्थामा एउटै आवेदनमा फारम गरेर इन्स्पेक्टर भएका तीनजना आइजीपी बन्नेछन् । ३० वर्षे सेवा अवधिका कारण एउटा ब्याचबाट एउटा आइजीपी बन्दै आएकोमा यो टोली भने भाग्यमानी देखिएको छ । एउटै आवेदनमा इन्स्पेक्टरको फारम भरे पनि नियुक्ति लिने बेलामा तीन फरक मितिमा नियुक्ति दिएकाले तीन जना आइजीपी बन्ने अवस्था आएको हो । ३२ औं आइजीपी नियुक्त भएपछि उनले भने, ‘म आफूलाई लक्की नै ठान्छु । अहिलेसम्म विवादबाट टाढै रहेर काम गरें । प्रहरी निरीक्षकमा प्रवेश गरेर यो ठाउँसम्म आइपुगें ।’
उनीसँगै अन्य एआइजीपीहरू पनि ३२ औं आइजीपीको प्रतिस्पर्धामा थिए । प्रहरी नियमावलीले नै सबै एआइजीलाई आइजीपीको प्रतिस्पर्धीका रूपमा हेरेकाले २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका एआइजीपी सिद्धिविक्रम शाहदेखि २०५४ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएर एआइजीपी भएका दानबहादुर कार्की, राजन अधिकारी र डा.मनोज केसीसम्म आइजीपीको प्रतिस्पर्धामा थिए ।
प्रहरी नियमावली २०७१ को दफा ४१ मा लेखिएको छ, ‘प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा अतिरिक्त प्रहरी महानिरीक्षकमध्येबाट र एआइजी नभएको अवस्थामा डीआइजीमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सक्नेछ ।’
सत्यपाटी