२०८३ जेठ २४ , आइतबार 8, June 2026, Monday

जापानमा दुई घन्टाभन्दा बढी स्मार्टफोन चलाउन प्रतिबन्ध

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १३ गते शुक्रबार

स्मार्टफोन हामी सबैको जीवन र बानीमा समावेश भइसकेको छ, त्यसैले मानिसहरु स्मार्टफोन प्रयोग गरेर धेरै घण्टा बिताउँछन् । बालबालिकाको राम्रो भविष्य, मानिसको स्वास्थ्य र मानसिक स्वास्थ्य र बिग्रिएको सम्बन्धलाई ट्रयाकमा ल्याउन विज्ञहरूले स्क्रिन टाइम घटाउन सुझाव दिने गरेका छन् ।

यही कारणले गर्दा स्क्रिन टाइम कम गर्न विश्वभर विभिन्न किसिमका प्रयास भइरहेका छन् । हालै जापानको एउटा सहरमा फोनको प्रयोगका सम्बन्धमा एउटा नियम सार्वजनिक गरिएको छ जसमा अब मानिसले दिनमा दुई घण्टा मात्रै स्मार्टफोन प्रयोग गर्न पाउने भएका छन् । जापानी सञ्चारमाध्यमका अनुसार जापानको तोयोआके सहरका बासिन्दाले अब दिनमा दुई घण्टा मात्र स्मार्टफोन चलाउन सक्ने छन् ।

तोयोआके मेयर मासामी कोकीले घोषणा गरे कि नगरसभाले चाँडै मस्यौदा अध्यादेशमा मतदान गराउने छ, जसले बासिन्दाहरूलाई काम र स्कूलको दायित्व बाहिर स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरमा दिनको दुई घण्टा बिताउन अनुमति दिनेछ । यदि नियममा पारित भएमा यो अक्टोबरदेखि तोयोआकेमा लागू हुनेछ । जापानको कागावा सहरमा सन् २०२० मा नै यस्तो नियम बनाएर लागू नै गरिसकेको छ ।

कोकीले यो कानुन उल्लंघन गर्नेलाई कुनै आर्थिक वा फौजदारी सजाय नहुने स्पष्ट पारेका छन् । उनले भने कि स्क्रिन टाइमलाई दुई घण्टामा सीमित गर्नु एक दिशानिर्देश मात्र हो । यो विधेयकले स्वास्थ्य र दैनिक जीवनमा अत्यधिक स्मार्टफोन प्रयोगको नकारात्मक असरबाट बासिन्दाहरूलाई जोगाउने लक्ष्य राखेको छ । जापानमा मार्चमा गरिएको एक सर्वेक्षणले देशका युवाहरूले आफ्नो फोन, ट्याब्लेट र कम्प्युटरमा दैनिक औसत पाँच घण्टा बिताउने गरेको पाइएको थियो ।

कोकीको विश्वास छ कि फोनको अत्यधिक प्रयोगले निद्रामा समस्या, मानसिक स्वास्थ्य आदि जस्ता समस्याहरू निम्त्याउन सक्छ । बालबालिका र वयस्कहरू, युवा र वृद्धहरूले निश्चित समय पछि फोन प्रयोग गर्ने छैनन् । विद्यालय सकिए पछि विद्यार्थीले दिनमा दुई घण्टा मात्रै स्मार्टफोन प्रयोग गर्न पाउने छन् । कक्षा १ देखि ५ सम्मका बालबालिकाले राति ९ बजेपछि फोन प्रयोग गर्न पाउने छैनन् र ठूला बालबालिकाले १० बजेपछि फोन प्रयोग गर्नुहुँदैन ।

यद्यपि जापानको तोयोआके शहरमा फोनका सम्बन्धमा बनाइएका नियममा सजाय वा जरिवानाको व्यवस्था छैन । जनतालाई सचेत गराउनका लागि मात्रै यस्तो व्यवस्था गरिएको हो । यति हुँदाहुँदै पनि जनतामा आक्रोश छ । जापानका एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘दुई घण्टा निकै कम समय हो, त्यो समयमा उनीहरु केही गर्न सक्ने छैनन् ।’ अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘म मेयर मासामी कोकीको नियतमा शंका गरिरहेको छैन, तर दुई घन्टाको लिमिटको सिमा पालना गर्न असम्भव छ ।’

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार