२०८३ वैशाख १६ , बुधबार 30, April 2026, Thursday

पशुपतिमा शवको हड्डी किनबेच प्रकरणमा चार जनाविरुद्ध मुद्दा दर्ता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १२ गते बिहीबार

काठमाडौंको पशुपति आर्यघाटमा शव जलाउने क्रममा हड्डी निकालेर बिक्री गरेको आरोपमा चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । पक्राउ पर्नेमा सर्लाहीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेका ६१ वर्षीय जीवनाथ ढकाल, उदयपुरका २४ वर्षीय विनायक मैनाली र सप्तरीका ४१ वर्षीय मिश्रीलाल यादव छन् ।

प्रहरी वृत्त गौशालाको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि धर्मसम्बन्धी कसुरमा मुद्दा चलाएको हो । न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा बयान जारी छ । बयानपछि थुनछेक बहस भई पुर्पक्ष, साधारण तारिख वा धरौटीमा छाड्ने आदेश जारी हुनेछ । २३ साउनमा राम शाहीको शव सद्गदका लागि आर्यघाट लगिएको थियो ।

जीवनाथ र विनायकले शव जलाउने क्रममा टाउकाको हड्डी निकालेर रामनन्दन र मिश्रीलाललाई बिक्री गरेको आरोप छ । रामनन्दन, जीवनाथ र विनायकमाथि मुलुकी फौजदारी अपराध संहिताको दफा १५७(१) अनुसार धार्मिक रीतिमा बाधा पुर्याएको कसुरमा मुद्दा चलाइएको छ । यो कसुरमा एक वर्षसम्म कैद, १० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । मिश्रीलाललाई मतियारको रूपमा आधा सजायको माग गरिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार