२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday
सीमा वारपार तस्करी

युनिट इन्चार्जलाई ‘दक्षिणा’ बुझाएपछि ‘निर्वाध तस्करी’

युनिटमा इन्चार्ज भएर बसेका सशस्त्र र नेपाल प्रहरीका इन्चार्जहरुको नेपाल र भारत दुवैतिरका तस्करहरुसँग उठबस हुने र इन्चार्जले तोकेको ‘दक्षिणा’ पाएपछि निर्वाधरुपमा मालसामान आयात निर्यात हुन्छ ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १२ गते बिहीबार
फाइल तस्वीर

चाडपर्वहरु नजिकिँदै गर्दा बाँकेमा सीमापारिबाट भइरहेको तस्करी र अवैध आयात अत्यधिक बढेको छ । बाँकेको नेपाल–भारत सीमा वारपार व्यापक मात्रामा तस्करी फस्टाएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको मिलेमतोमा बाँकेमा सीमा वारपार तस्करी फस्टाएको हो । सीमामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको आउट पोस्टहरुको मिलोमतोमा दैनिक लाखौँको तस्करी भइरहेको छ ।

सशस्त्र र नेपाल प्रहरीकै संलग्नतामा दैनिक लाखौको तस्करी भइरहेको सर्वसाधारणको गुनासो छ । बाँकेको मुख्य भन्सार नाका जमुनाहासँगै सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा, होलिया, हिरमिनियाको भघोटना, साईगाउँ र साइगाउँ पश्चिमतर्फको उढरापुर नाकाबाट दैनिक लाखौँको मालसामान खुलेआम नेपालतिर तस्करी भइरहेको छ । ती नाकाहरु अवैध आयात निर्यातको केन्द्र बन्दै गएका छन् ।

भारतसँग सीमा जोडिएका गाउँको बाटोबाट खुलेआम चोरी तस्करी हुने गरेको छ । यी नाकाहरुबाट पैदल, मोटरसाइकल र साइकलमा राखेर दैनिक ठुलो परिमाणको मालसामान राजस्व छलेर नेपाल भित्रिने गरेको छ । सशस्त्र र नेपाल प्रहरीकै संलग्नतामा ती नाकाहरुबाट अवैध आयात निर्यात हुने गरेको नरैनापुरका स्थानीय सज्जाद खाँले बताए । उनले अवैध आयात निर्यात लामो समयदेखि भैरहेको र राज्यलाई लाखौं लाखको नोक्सानी भैरहेको बताए ।

पश्चिमतर्फ रंजितवा बजारसँग जोडिएको साइगाउँ तथा उढरापुर नाकाबाट अवैध आयात निर्यात बढेको छ । यी नाकाहरुमा पनि सशस्त्र र नेपाल प्रहरीकै संलग्नतामा तस्करी बढेको जनाइएको छ । नाकामा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपालगन्जस्थित विभिन्न प्रहरी युनिटहरुकै मिलेमतोमा चाडपर्वको बेला तयारी कपडा लगायतका विभिन्न सामानको माग हुने गरेकाले तस्करी गर्नेहरू सोही समयमा बढी सक्रिय हुने गरेका छन् ।

सशस्त्र र नेपाल प्रहरी युनिटका इन्चार्जहरु नै नाकाबाट दैनिक लाखौँको मालसामान खुलेआम नेपालतिर तस्करी गराउन सक्रिय देखिन्छन् । भारतबाट नेपालतिर कपडा, तेल, चिनी, मेसिनरी पार्टस लगायतका सामग्री तस्करी हुने गरेको छ । युनिटमा इन्चार्ज भएर बसेका सशस्त्र र नेपाल प्रहरीका इन्चार्जहरुको नेपाल र भारत दुवैतिरका तस्करहरुसँग उठबस हुने र इन्चार्जले तोकेको ‘दक्षिणा’ पाएपछि निर्वाधरुपमा मालसामान आयात निर्यात हुन्छ ।

नेपाल प्रहरीसँग ‘सेटिङ’ मिलाएर मालसामान तस्करी हुने गरेको स्थानीयले बताएका छन् । प्रहरीले नै अवैध तस्करीमा सघाउँदै आएको गंगापुरका स्थानीय चन्द्रिका यादव बताउँछन् । ‘प्रहरीले तस्करीको सूचना पाउनुभन्दा पनि उनीहरूले नै ‘पास’ हुने समय निर्धारण गर्छन् र सोही समयमा बोर्डर कटाउन भन्छन्,’ यादवले भने, ‘यो कुरा यहाँ धेरैजसो अधिकारीलाई थाहा छ नै, यद्यपि यसबारेमा कसैलाई पनि चिन्ता छैन ।’

दिनभरि सीमा नाकानिर अवैध सामान भण्डारण गर्ने र राति वारिपारि आयात निर्यात गर्ने धन्दा सुरक्षाकर्मीकै संरक्षणमा चलिरहेको छ । दुईतर्फी रूपमा यो अवैधधन्दा फस्टाउँदै गएको छ । भारतसँग ६५ किलोमिटर खुला सीमा रहेको बाँकेका सीमा नाकाहरुमा सशस्त्र र नेपाल प्रहरीका गस्ती टोलीलाई तस्करहरुले आर्थिक प्रलोभनमा पारेर दैनिक लाखौंका अवैध सामान वारिपारि आयात निर्यात गर्ने धन्दा चलाइरहेका छन् ।

‘सुरक्षाकर्मीकै सामुन्ने व्यापक तस्करी भइरहेको छ,’ नेपालगन्ज एक जना व्यवसायीले भने, ‘सुरक्षाकर्मी मौनता साँधेर बसेका छन् ।’ उनका अनुसार सशस्त्र र नेपाल प्रहरीका युनिटबाटै तस्करी हुने गरेको छ । उनले भने, ‘साँझ परेपछि प्रहरीले नै सामान कटाउन सहयोग गर्छन् ।’ सुरक्षाकर्मीकै संरक्षणमा तस्करहरुले सीमा क्षेत्रबाट नयाँ बाटो तय गरी लत्ताकपडा, चिनी, मसलाजस्ता वस्तुहरूको चोरी निकासी गरिरहेका छन् ।

साथै तस्करहरुले मिठाई, चकलेट, सूर्ति, बिँडी, मलखाद, मोबाइल, मोबाइल पार्टस, आलु, प्याज, गहुँ, प्लाष्टिक झिल्ली, कूलर, ब्रोइलर कुखुरा, हार्डवेयरका सामान, ब्याट्री, सवारी साधनका पार्टपुर्जा आदि बढी चोरीपैठारी गर्दै आएका छन् । चाडपर्व नजिकिएपछि यो क्रम झन् बढेको छ । चोरीपैठारी नियन्त्रण गर्न सीमा नाकामा खटिएका सशस्त्र र नेपाल प्रहरी तथा भन्सारकर्मीले व्यापारीसँग अतिरिक्त रकम लिइरहेका छन् ।

व्यापारीबाट राजस्व नबुझाएबापत बक्सिस थाप्न नाकामा बर्दीधारी सशस्त्र र नेपाल प्रहरीका घुमुवा तथा भन्सारका कर्मचारी हानथाप गरिरहेका भेटिन्छन् । भन्सार नाकामा समेत दिनदहाडै राजस्व छलेबापत व्यापारीसँग लेनदेन गर्नेमा सशस्त्र र नेपाल प्रहरीले सबैलाई उछिनेका जमुनाहा नाकाका एक पसलले पसलले बताए । पैसा दिएपछि सशस्त्र र नेपाल प्रहरी तथा भन्सारकर्मीले हतियारै भित्रिए पनि चेकजाँच नगर्ने उनले बताए ।

‘बाहिर चेकजाँच गर्न बसेका सशस्त्र प्रहरीहरू लाजै पचाएर पैसा माग्छन्,’ ती पसलेले भने, ‘भित्र हाकिमलाई पनि टक्र्याउनुपर्ने, बाहिर स्टाफलाई पनि । दिनरात यही हेर्दाहेर्दा आजित भइसक्यौं ।’ सीमामा खटिएका सशस्त्र र नेपाल प्रहरीका युनिट इन्चार्जलाई कमाउधन्दाकै ध्याउन्ने छ । युनिट इन्चार्जहरु तस्करहरूसँग खुलेआम मोलमोलाई गरी पैसा असुली कार्यमा ब्यस्त छन् । जसका कारण यतिबेला बाँकेमा तस्करी मौलाएको छ ।

सीमा क्षेत्रका युनिट इन्चार्जहरु आफैं सेन्ट्री बसेर अवैध मालसामान तस्करी गराउँदै आएका छन् । तस्करहरुलाई भेटेर एसपीदेखि डीआइजीसम्मलाई दिनुपर्छ नत्र तपाईंहरुको काम कसरी चल्छ भन्दै युनिट इन्चार्जहरु हप्ता र महिनावारी घुस असुल्ने गरेका छन् । दैनिक सादा पोसाकमा मोटरसाइकलमा घुम्दै घरायसी सामान लिँदै गरेका सर्वसाधारणलाई समेत तस्कर सम्झेर २०० देखि ५०० रुपैयाँसम्म घुस माग्ने गरेको सर्वसाधारणहरुको गुनासो छ ।

घुस नदिनेहरुको सामान जफत गरी भन्सारमा बुझाउने गरेको पनि सर्वसाधारणहरुको गुनासो छ । तर लाखौं करोडौैको सामान तस्करी गर्नेलाई निर्वाध छाड्ने गरेका छन् । यहाँ सशस्त्र र नेपाल प्रहरीले घुमुवा परिचालन गरेर तस्करी गराउँदै आएको र यसवापत घुमुवामार्फत् प्रहरी प्रमुखले मोटो रकम बुझ्ने गरेको स्रोतको दाबी छ । लामो समय बाँकेमा जरो गाडेर बसेका प्रहरी कर्मचारीले हाकिमलाई गुम्राहामा पारेर धमाधम तस्करीको लाइन चलाइरहेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार