२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

विश्वको सबैभन्दा अग्लो पुलको स्ट्रेस परीक्षण सफल

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १२ गते बिहीबार

चीनमा विश्वको सबैभन्दा अग्लो पुल निर्माण सम्पन्न भएसँगै उद्घाटनको तयारी तीव्र पारिएको छ । चीनको गुइझोउ प्रान्तमा अवस्थित हुआजियाङ ग्रान्ड क्यान्यन पुलले अन्तिम तनाव (स्ट्रेस) परीक्षण गरेको छ ।

बिपान नदीमाथि ६२५ मिटर उचाइमा निर्माण गरिएको यो पुल विश्वको सबैभन्दा अग्लो र पहाडी क्षेत्रमा सबैभन्दा लामो दुरीमा फैलिएको पुल हो । गुइझोउ प्रान्तको नाटकीय कास्र्ट पहाडहरूमा अवस्थित यो पुललाई अभूतपूर्व इन्जिनियरिङ उपलब्धिको रूपमा लिइएको छ । ग्लोबल चाइना डेलीका अनुसार, पुलले अगस्ट २१ देखि २५ सम्म कडा स्थिर लोड परीक्षण सफलतापूर्वक पास गरेको छ ।

परीक्षणका क्रममा कुल तीन हजार ३६० मेट्रिकटन तौल भएका ९६ वटा भारी ट्रकहरू पुलमा राखेर यसको भारवहन क्षमता जाँच गरिएको थियो । ४०० भन्दा बढी सेन्सरहरूले पुलको मुख्य फैलावट टावर, केबल र सस्पेन्डरहरूमा हुने सानोभन्दा सानो हलचलको निगरानी गरी यसको संरचनात्मक सुरक्षा सुनिश्चित गरे । इन्जिनियरहरूले पुलको क्षमताले सुरक्षा मापदण्डहरू पूरा गरेको पुष्टि गरेका छन् ।

कस्तो छ पुल ?

यो पुलको कुल लम्बाइ २ हजार ९०० मिटर छ, जसमा मुख्य फैलावट एक हजार ४२० मिटर छ । यो क्यान्यनको सतहबाट ६२५ मिटर उचाइमा छ । खुल्ने बित्तिकै, यसले विश्वको सबैभन्दा अग्लो र पहाडी क्षेत्रमा सबैभन्दा लामो फैलावट भएको पुलको रेकर्ड कायम गर्नेछ ।

गुइझोउ ट्रान्सपोर्टेसन इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेडका परियोजना प्रबन्धक वु झाओमिङले निर्माणका क्रममा धेरै चुनौतीको सामना गरेको बताए । ती चुनौतीहरूमा ठूलो मात्रामा कंक्रिट खन्याउँदाको तापक्रम व्यवस्थापन, ढलानहरूलाई स्थिर राख्ने र तीव्र हावाको प्रभावलाई कम गर्नेजस्ता पक्ष थिए ।

यी अवरोधहरूको बावजुद, टोलीले परियोजना निर्धारित समयभन्दा अगाडि सम्पन्न गरेको हो । सेप्टेम्बरमा खुल्ने तयारीमा रहेको यो पुलले स्थानीय पर्यटन र विकासलाई उल्लेखनीय रूपमा बढावा दिने बताइएको छ । यसले लिउझी र अनलोङ बीचको यात्रा समयलाई दुई घण्टाबाट घटाएर दुई मिनेटमा झार्नेछ । विश्वका शीर्ष दस अग्ला पुलहरूमध्ये आठवटा गुइझोउमा छन्, जसले पुल निर्माणमा चीनको प्रभुत्व देखाउँछ ।

प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार