कर्णाली प्रदेश सरकारले जाजरकोट भित्र्याएका बेलिब्रिज दुई वर्षदेखि अलपत्र परेको छ । नलगाड जलविद्युत आयोजनाले निर्माण गर्न लागेको पुल लामो समयदेखि अलपत्र परेपछि प्रदेश सरकारले बनाउने भनेको बेलिब्रिज पुलसमेत लथालिङ्ग भएको छ ।
तीन महिनाभित्र काम सम्पन्न गर्ने गरी संघीय सरकारले उपलब्ध गराएका दुई थान पुलको सामान अलपत्र परेको हो । २२ माघ २०८० मा सडक डिभिजन कार्यालय नेपालगन्जबाट जाजरकोट ल्याइएको पुलको सामान आठ महिना बित्दासमेत काम सुरु हुन सकेको छैन ।
जिल्लाका दुई पालिका जोड्न तत्कालीन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले पुलको सामान बुझेका थिए । नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ खारा खोला जोड्ने पुलको सामान ल्याएको थियो । लामो समयदेखि अलपत्र परेको खारा खोलाको पुलको विकल्पमा ल्याएको बेलिब्रिजको समेतको सामान अलपत्र परेको छ ।
स्थानीयलाई सास्ती नै रहेको स्थानीय सुरेन्द्रबहादुर बस्नेत बताउँछन् । पुलको सामान ढुवानीका लागि बारेकोट गाउँपालिकाले १० लाख खर्च गरेको छ । नेपालगन्जदेखि खारासम्मको ढुवानीबापत गाउँपालिकाले रकम खर्च गरेको हो । संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको पुलको सामान गाउँपालिकाले ढुवानी गरेको थियो ।
सरोकारवालाले छिटो भन्दा छिटो पुल निर्माण गर्न स्थानीयबासी बिनोद घर्ती सुझाउँछन् । लामो समयसम्म निर्माण कार्य सम्पन्न गर्ने सन्दर्भमा निर्माण व्यवसायीले कुनै अग्रसरता नदेखाएको स्थानीयको गुनासो छ । पुल निर्माणतर्फ पिलर राख्ने ठाउँमा पानी निस्केपछि विवाद उत्पन्न भएको थियो ।
सत्यपाटी