२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा, विरामीलाई सहज

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १० गते मंगलबार

भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका छन् । निःशुल्क डाइलायसिस सेवा पाउने भएपछि विरामीलाई सहज हुने भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार ती सेवाका लागि भेरी अस्पताललाई सूचीकृत गरेसँगै बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका हुन् ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.निराजन सुवेदीले हेपाटाइटिस बी र एचआइभी सङ्क्रमितलाई सेरोपोजेटिभ बिरामीको रुपमा परिभाषित गरिएको जानकारी दिए । बिरामीले एक वर्षमा तीन लाख रुपैयाँ बराबरको डाइलायसिस सेवा पाउनेछन् ।

अस्पताल सूचीकृत भएसँगै लामो समयदेखि डाइलायसिस सेवाको खर्च थेग्न नसकेर उपचारमा समस्या भोग्दै आइरहेका बिरामीलाई ठूलो राहत मिल्ने भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट सुवेदीले बुधवारबाट सो सेवा सुरु हुने जानकारी दिए ।

हालसम्म ज्येष्ठ नागरिक, सिकलसेल तथा थालेसिमिया, सामान्य डाइलायसिस, स्पाइन इन्जुरी, हेडइन्जुरी र मुटुका बिरामीले विपन्न नागरिक औषधोपचार कार्यक्रमबाट निःशुल्क सेवा लिँदै आएका थिए । अस्पताललाई मिर्गौला प्रत्यारोपण र पेरिटोनियल डायलाइसिसका लागि पनि सूचीकृतको अन्तिम तयारी थालिएको छ ।

सूचीकृत भए मिर्गौला प्रत्यारोपणका बिरामीहरुले भेरी अस्पतालबाटै सात लाख रुपैयाँ पाउनेछन् । सरकारले मिर्गौला प्रत्यारोपणका लागि चार लाख रुपैयाँ, औषधि खर्चबापत दुई लाख रुपैयाँ पाउने भएका हुन् ।

प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार