२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

वैदेशिक रोजगारीमा गएका २८५६ जना बाकसमा फर्किए

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १० गते मंगलबार

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीहरूको संख्या झन् डरावह बन्दै गएको छ । परिवारलाई सुख–सुविधा दिने सपना बोकेर विदेशिने धेरै नेपालीहरू अन्ततः बाकसमा फर्किन बाध्य हुने क्रम रोकिएको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार साउन महिनामात्रै १७४ जना नेपालीको शव विदेशबाट नेपाल ल्याइएको छ । औसतमा दैनिक चारदेखि पाँच जनाको शव विमानमार्फत ल्याइने गरेको तथ्यांकले देखाउँछ ।

तीमध्ये धेरैजसो कुवेत, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया र कतारजस्ता श्रम गन्तव्य मुलुकबाट आएका हुन् । वैदेशिक रोजगार बोर्डको विवरण अनुसार आर्थिक वर्ष २०८१–०८२ मा मात्रै एक हजार २५५ जना नेपाली कामदारले विदेशमै ज्यान गुमाएका थिए ।

यो संख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र मृत्यु भएपछि बोर्डमार्फत आर्थिक सहायता प्राप्त गरेका परिवारको तथ्यांक हो । यस्तै, प्रहरीको मुचुल्का र सम्बन्धित परिवारलाई बुझाइएको विवरण हेर्दा सोही अवधिमा एक हजार ४०१ जना नेपाली विदेशमै निधन भएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा भने यो संख्या अझ बढी अर्थात् एक हजार ४५५ पुगेको थियो ।

प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार