२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

बाँकेका बजारभर कर्णालीको स्याउ छ्यापछ्याप्ती

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ भदौ १० गते मंगलबार

चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्ज र कोहलपुरमा अहिले कर्णालीका स्याउ बजारभर छन् । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादित अर्गानिक स्याउ स्थानीय बजारमा आउन थालेपछि भारत र चीनबाट आयात गरिने स्याउ हाल बजारबाट हराउन थालेका छन् ।

केही दिनपहिलेसम्म भारत र चीनबाट आयात गरिएको स्याउले ओगेटेको बाँकेको नेपालगन्ज र कोहलपुर बजारमा अहिले जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ । स्थानीय फलफूल व्यवसायी रमजान कबडियाले भारतबाट भित्रिएका महँगो स्याउको ठाउँमा सस्तो र गुणस्तरीय नेपालकै स्याउ बजारमा आएपछि अहिले चारैतिर सोही स्याउ बिक्री भइरहेको बताए ।

उनले भारतीय स्याउ प्रतिकिलो २५० रुपैयाँमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ किलोको १५० रुपैयाँको आसपासमा पाइन थालेपछि भारतीय स्याउको बिक्री बन्द भएको बताए । कर्णालीका जुम्ला र कालीकोटबाट ठुलो परिमाणमा स्याउ कोहलपुरमा ल्याएर बिक्री सुरु गरिएकाले भारत र चीनबाट ल्याइने स्याउको बिक्री बन्द भएको स्याउका कोहलपुरस्थित थोक विक्रेता केपी अधिकारीले बताए ।

उनका अनुसार अहिले कोहलपुर, नेपालगन्ज र खजुरामा जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ । भारतीय स्याउ महँगो र त्यति स्वादिलो नभएकाले कर्णालीको स्याउको माग अत्यधिक रहेको अधिकारीको भनाइ छ । उनका अनुसार बाँकेको कोहलपुरस्थित कृषि उपज केन्द्रमा दैनिक करिब तीनदेखि पाँच टनसम्म कर्णालीको स्याउ बिक्री भइरहेको छ ।

यसैगरी नेपालगन्जस्थित फलफूलका अर्का थोक विक्रेता शमशेर मियाँले अहिले बजारमा जताततै कर्णालीकै स्याउको माग उच्च रहेकाले अरू स्याउ ल्याउन छाडेको बताए । उनले नेपालगन्जको फलफूल थोक बजारमा अहिले दैनिक पाँच टनभन्दा बढी स्याउ बिक्री हुने गरेको जनाउँदै सीमापारि भारतमा समेत कर्णालीको स्याउ जान थालेको बताए । यस क्षेत्रमा कर्णालीको स्याउको माग बढ्दै गएपछि कोहलपुरस्थित भेरी शीतभण्डार सहकारी संस्थामा ठुलो परिमाणमा स्याउ भण्डार भइरहेको र आउने क्रम अझै जारी रहेको भेरी शीतभण्डारले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार