२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

तीजमा निराहार व्रत बस्दा स्वास्थ्यमा प्रतिकूल असर

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १० गते मंगलबार

नेपाली महिलाको महान् चाड तीज व्रतमा केही नखाई (निराहार) बस्दा स्वास्थ्यमा प्रतिकूल असर पर्नेतर्फ सचेत गराइएको छ । तीजमा महिलाहरू पानीसमेत नपिएर पतिको दीर्घायुका लागि व्रत बस्ने गर्छन् । निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर गर्छ भन्दै चिकित्सकले सचेत गराएका छन् ।

वरिष्ठ चिकित्सक लोचन कार्कीले दरमा अत्यधिक खाना खाने र अर्को दिन केही नखाई निराहार व्रत बस्दा स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताइन् । उनले निराहार व्रत बस्दा शरीरका लागि आवश्यक पानी, भिटामिन, ग्लुकोजजस्ता पदार्थ अपुग भएर असर गर्ने बताइन् । व्रत बस्दा पानी, फलफूल प्रशस्त मात्रामा खान सुझाव दिँदै उनले व्रत बस्ने नाममा कुनै रोग लागेको छ भने त्यसले झनै असर गर्ने बताइन् ।

कुनै महिला ग्यास्ट्रिक, मधुमेहजस्ता रोगबाट पीडित भएका व्रतालुले चोखो खानेकुरा पर्याप्त मात्रामा खानु उपयुक्त हुने जानकारी दिँदै केही नखाई बस्दा कमजोरी हुने, चक्कर लाग्नेजस्ता समस्या देखिन सक्नेतर्फ सचेत रहन उनले सुझाइन् । निराहार व्रतले रक्तचाप घटबढ हुनुका साथै रक्तचापका बिरामीलाई अझ बढी जोखिम हुन सक्ने चेतावनी उनले दिइन् ।

चिनीरोग भएका महिलाका लागि जटिल अवस्था आउन सक्ने भन्दै डा.कार्कीले लामो समय केही नखाँदा चिनीको मात्रा तलमाथि हुन सक्ने बताइन् । उनले लामो समयसम्म खाली पेट बस्दा पाचन प्रणालीमा समेत असर गर्ने जानकारी दिइन् । लामो समयसम्म नखाँदा पेटमा एसिड बढ्ने र ग्यास्ट्रिक, अल्सरजस्ता समस्या देखिन सक्ने भएकाले अलि लामो समयसम्म खाना खाएन भने सामान्य मानिसलाई पनि समस्या हुनेतर्फ विचार पुर्याउन आग्रह गरिन् ।

लामो समयसम्मको व्रतले अत्यधिक थकान, कमजोरी हुनुका साथै असहज हुने भएकाले कतिपय महिलामा रक्तअल्पताजस्ता समस्यासमेत हुने बताइन् । पोषणविद् डा.उमा कोइरालाले तीजमा केही पनि नखाई व्रत बस्नु शरीरका लागि राम्रो नहुने बताइन् । उनले दरको निहुँमा अत्यधिक खाएमा झाडापखाला हुने अर्को दिन भोकै बसे विभिन्न समस्याले सताउने जनाइन् ।

‘खानपानमा विशेष ध्यान दिइएन भने त्यसले असर गर्दछ,’ डा.कोइरालाले भनिन्, ‘व्रतमा पनि हल्का खाने र दरको नाममा बढी नखाँदा स्वास्थ्यका लागि फाइदा हुन्छ ।’ डा.कोइरालाले अहिले पहिलेजस्तो दर नभएको बताइन् । पहिले व्रत बस्ने अघिल्लो दिन मात्र दर खाने गरिन्थ्यो, डा.कोइरालाले थपिन्, ‘अहिले एक महिनाअघिदेखि दर खाने चलनले चिनीरोग, मोटोपन, रक्तचाप जस्ता समस्या देखिन सक्छ ।’

शारीरिक रूपमा व्रतले फाइदा गरे पनि निराहार व्रत बस्न नहुने उनको तर्क छ । उनले गर्भवती, दीर्घरोगी, वृद्धवृद्धाले व्रत नबस्नु नै उपयुक्त हुने र बसे पनि फलफूल तथा हल्का खाना खान सकिने बताइन् । शरीरलाई प्रतिकूल असर पुर्याउने भएकाले खानपानमा सन्तुलन बनाउनुपर्ने उनको भनाइ छ । फलफूल, दुध हल्का खालको भोजन गरेर व्रत बस्नुपर्ने उनको भनाइ छ । स्तनपान गराइरहेका महिलालाई पनि निराहार व्रत बस्दा दुध नआउने र शिशुलाई समेत त्यसले असर गर्ने बताइन् ।

प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार