२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १० गते मंगलबार

आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरू हरितालिका तीज पर्व मनाउँदैछन् । यो दिन देवादिदेव महादेवको पूजा आराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ । आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

आजको विशेष दिनलाई ध्यानमा राखेर भक्तजनहरूको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजेबाटै खुल्ला गरिएको छ । शास्त्रअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत लिनाले सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ । विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै यो व्रत बस्ने गर्छन् ।

यद्यपि शास्त्रीय मान्यताअनुसार पुरुषहरूले पनि यो व्रत लिनुपर्ने उल्लेख छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेवलाई पति पाएकी थिइन् । पिता हिमालयले विष्णुसँग पार्वतीको विवाह गराउन खोजेपछि साथीहरूले पार्वतीलाई लुकाएर सुरक्षित स्थानमा राखे । त्यही स्थानमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यस दिन पार्वतीलाई साथीहरूले हरण गरेको कारण संस्कृतका ‘हरित’ (हरण) र ‘आलिका’ (साथी) शब्दबाट ‘हरितालिका’ शब्द बनेको मानिन्छ । यो व्रत निराहार (कुनै खानेकुरा नखाई), जलाहार (जल मात्र) वा फलाहार (फलफूल) गरेर बस्न सकिन्छ । ‘सर्वतः आत्पान् गोपायेत्’ जसरी भए पनि आत्माको (स्वास्थ्यको) रक्षा गर्नुपर्छ भनिएको छ । आफ्नो स्वास्थ्यको विचार गरेर निराहारादी उक्त तिन प्रकारका व्रतमा कुन चाही व्रत बस्ता स्वास्थ्य बिग्रदैन त्यही व्रत लिन पर्दछ ।

आफ्नो स्वास्थ्य अनुसार यीमध्ये उपयुक्त विकल्प छनोट गर्न सकिन्छ । स्वास्थ्यको कारण निराहार बस्न जो मानिस असमर्थ छ त्यस्तो पुरुष वा महिलाले जल, सखरखण्ड, पिडालु, तरुल, केरा, आँप अम्बा, दूध हवनीय वस्तु, खानुहुन्छ भने गुरुको बचनद्वारा अनुमोदित वस्तुको सेवन गर्न सकिन्छ । स्कन्धपुराण अनुसार औषधि सेवन गर्दा व्रत भङ्ग नहुने उल्लेख छ । धार्मिक विश्वास अनुसार आजको दिन व्रत बस्ने र शिव–पार्वतीको पूजा गर्ने व्यक्तिको मनोकामना पूरा हुने मान्यता छ ।

प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार