२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

पर्यटकको रोजाईमा पर्दै गाजा दह

सत्यपाटीसत्यपाटी । बागलुङ । २०८२ भदौ ४ गते बुधबार
जैमिनी नगरपालिका–३ मा रहेको गाजाको दह ४२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको गाजा दह ।

गाजाको दहसँग थुप्रै मिथक र किम्बदन्ती जोडिएका छन् । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–३ मा रहेको गाजाको दह ४२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । दहमा पातपतिङ्गर हुँदैनन् । पात पतिङ्गर चराले सफा गर्ने यहाँको किम्बदन्ती छ । शिव र पार्वती घुम्दै आउँदा पर्वतले पानी पिएको ठाउँको रुपमा पनि लिइन्छ ।

शिवले केही माथीको ठाउँमा बसी गाजा खाएको र त्यहि क्रममा पार्वतीले तिर्खा लाग्यो भन्दा शिवले जमिनमा त्रिशुल हानी पानी निकालिदिएको मिथक छ । यहाँ शिद्ध बराह घुम्दै आउँदा ठाउँ मन परेर यहाँ बसेको पनि कथन छ । त्यसैले यहाँ सिद्ध बराहको मन्दिर निर्माण गर्नुका साथै उनको पूर्ण कदको शालीक निर्माण गरिएको छ ।

पटक–पटक समुन्द्रमा जस्तै छाल निस्कने गरेको पनि स्थानीयको भनाइ छ । काई प्रभु भन्ने होम कुण्ड रहेकोले त्यसको अध्ययनको लागि उत्खनन गरिने बताइएको छ । गाजा दहको नजिकै सिद्ध थान रहेको छ । यहाँ बैकुष्ठ चर्तुदर्शी तथा बाला चर्तुदर्शीमा मेला लाग्ने गरेको छ । बाला चर्तुदर्शीमा सतबिज झर्नेको भीड लाग्ने गर्दछ ।

पूर्णिमा मेला र विभिन्न चाडपर्वमा गाजा दहमा नुहाउने भक्तजन उत्तिकै हुन्छन् । धार्मिक र पर्यटकीय स्थान भएकोले पर्यटन क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने स्थानीयको माग छ । मेला पर्व पारेर लोकदोहोरी, सोरठी, सालैजो र विनासालैजो जस्ता संस्कृति समेत प्रदर्शन गर्ने चलन रहेको जैमिनी नगरपालिका–३ का वडाध्यक्ष कृष्ण भुजेलले बताए ।

यो बागलुङ जिल्लाकै शान रहेको उनको बुझाइ छ । ‘यो बागलुङ जिल्लाकै पर्यटकीय क्षेत्रको शान हो, प्रकृतिको सुन्दर उपहार हो,’ भुजेलले भने, ‘हरेक सिजन यहाँ घुम्न र आनन्द लिन सकिने भएकोले पनि यो पर्यटकीय क्षेत्रको शान हो ।’ गाजा दह समुन्द्री सतहदेखि २४७० मिटर उचाईमा रहेको छ भने गाजा धुरी २८८० मिटर उचाईमा रहेको छ ।

यसको गहिराई ११ देखि १५ मिटर रहेको छ । यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहित मनास्लु हिमाल देखिन्छ । उच्च पहाडमा भएकोले हेमन्त ऋतुमा हिउँ फूल सिउरिन्छ गाजा दह । वसन्त ऋतुमा लालीगुराँसले ढकमक्क बन्छ भने बर्षा र गृष्म ऋतुमा बादलुको घुम्टोभित्र घुर्सिन्छ । जङ्गल छेवैमा भएर पनि यो ताल सधैँ सफा रहन्छ । यहाँबाट बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङ्जाका धेरै स्थानहरु देख्न सकिन्छ ।

बागलुङ सदरमुकामदेखि २४ किलोमिटरमा पर्ने यहाँ कुश्मीसेरा–दमेक हुँदै पुग्न सकिन्छ भने बागलुङ पश्चिम, सिगाना हुँदै पनि यस स्थानसम्म पुग्न सकिन्छ । यहाँ गलकोट, काठेखोलाको रेशबाट पनि सहजै पुग्न सकिन्छ । यहाँ आउने पर्यटकलाई बस्नका लागि होमस्टे र राम्रो व्यवस्थापनका साथमा होेटलहरु रहेका छन् । यी होमस्टे र होटलहरुमा स्थानीय उत्पादनको स्वाद लिन सकिन्छ ।

प्रकाशित मिति : २०८२ भदौ ४ गते बुधबार