२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

गम्भीर रोग र मृत्युको कारण बन्दै प्लाष्टिक, बालबालिका उच्च जोखिममा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ३ गते मंगलबार

प्लाष्टिक वातावरणसँगै मानव स्वास्थ्यका लागि गम्भीर र स्वास्थ्यका लागि बढ्दो जोखिम बनिरहेकोप्रति अध्ययनकर्ताहरूले सचेत गराएका छन् । यससँगै विश्वको अर्थ व्यवस्थामा वर्षेनी सयौँ अर्ब डलर नोक्सान गरिरहेको औँल्याइएको छ ।

प्लास्टिकका कारण हुने प्रदूषण र यसको प्रभावका सम्बन्धमा डाक्टर र विज्ञहरूको एउटा प्रतिवेदन ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित गरिएको छ । ल्यान्सेट मेडिकल जर्नलमा भनिएको छ, ‘प्लास्टिकले बाल्यकालदेखि वृद्धावस्थासम्म रोग र मृत्यु निम्त्याइरहेको छ र वार्षिक १,५०० अर्ब अमेरिकी डलरभन्दा बढी स्वास्थ्यसँग सम्बन्धित आर्थिक क्षति गराइरहेको छ ।’

प्लास्टिकको प्रभावलाई वायु प्रदूषण र सीसासँग तुलना गर्दै प्रतिवेदनमा कानून र नीतिहरू मार्फत यसले स्वास्थ्यमा पुर्याउन सक्ने प्रभावलाई कम गर्न सकिने उल्लेख गरिएको छ । बोस्टन कलेजका अमेरिकी डाक्टर र अनुसन्धानकर्ता फिलिप ल्यान्ड्रिगनले प्लास्टिकजन्य प्रदूषणले सबैभन्दा कमजोर वर्गहरू, विशेषगरी बालबालिकालाई धेरै असर गरिरहेको बताए । ‘हामीले यसका बारेमा सोच्न ढिला भइसकेको छ,’ उनले भने ।

मानव शरीरमा माइक्रो प्लास्टिकको प्रभाव

प्रकृति र मानव शरीरमा जताततै पाइने माइक्रो प्लास्टिकका सूक्ष्म कणहरूको बारेमा पनि प्रतिवेदनमा चेतावनी दिइएको छ । स्वास्थ्यमा माइक्रो प्लास्टिकले कतिसम्म प्रभाव पार्छ भन्ने बारेमा अझै पनि पूर्णरूपमा थाहा छैन तर अनुसन्धानकर्ताहरूले प्लास्टिकको सम्भावित प्रभावहरूका बारेमा सचेत गराउँदै आएका छन् ।

प्रतिवेदन अनुसार, सन् १९५० मा विश्वव्यापी प्लास्टिक उत्पादन २० लाख टन थियो । यो परिमाण बढेर २०२२ मा ४७ करोड ५० लाख टन पुग्यो । अब २०६० सम्म विश्वव्यापी प्लास्टिक उत्पादन तीन गुणा पुग्ने अनुमान गरिएको छ ।

प्लास्टिकको नौ प्रतिशतमात्र पुनः प्रयोग गरिन्छ । ‘प्लास्टिक जन्य प्रदूषण रोक्नका लागि प्रभावकारी कदम चाल्ने सन्दर्भमा संसारका देशहरू साझा सम्झौतामा पुग्न जरुरी भइसकेको छ, जुन वातावरण संरक्षणका लागि महत्वपूर्ण छ,’ विशेषज्ञहरू भन्छन् ।

प्लास्टिक उत्पादन द्रुत गतिमा बढ्दो

ल्यान्ड्रिगनले प्लास्टिक जीवाष्म इन्धनबाट बन्ने भएकाले विश्वव्यापी प्लास्टिक जन्य ‘संकट’ वातावरणीय संकटसँग जोडिएको बताए । ‘यी दुवै आज हजारौँ मानिसहरूमा रोग, मृत्यु र अपाङ्गताको कारण बनिरहेका छन् र पृथ्वीको तापक्रम अनि प्लाष्टिकको उत्पादन बढिरहेकाले आगामी वर्षहरूमा यो क्षति झन् गम्भीर हुनेछ,’ ल्यान्ड्रिगनले भने ।

प्रतिवेदनमा प्लास्टिकजन्य प्रदूषणका कारण स्वास्थ्यमा पर्ने प्रभावहरूको अनुगमन गर्न नयाँ परियोजनाको समेत घोषणा गरिएको छ, जसलाई द ल्यान्सेट काउन्टडाउन श्रृंखलाको एक हिस्सा भनिएको छ । सन् २०१९ मा आएको वातावरणीय परोपकारी संस्था डब्ल्यू डब्ल्यू एएफ इन्टरनेशनलको अध्ययनमा ‘मानिसहरूले हरेक हप्ता लगभग पाँच ग्राम प्लास्टिक खाइरहेका छन्,’ भनिएको थियो ।

विश्वमा कति छ प्लाष्टिक ?

आर्थिक सहयोग र विकास साझेदार संगठन (आईसीडी) का अनुसार, आज प्लास्टिकको आधारभूत घटक, सिंथेटिक पोलिमरको विश्वव्यापी उत्पादन १९५० को तुलनामा २३० गुणाले बढेको छ । सन् २००० देखि २०१९ को बीचमा, कुल उत्पादन दोब्बर बढेर ४६ करोड टन पुग्यो । स्टील, आल्मुनियम र सिमेन्ट जस्ता उत्पादनहरू भन्दा पनि तीव्ररुपमा सिंथेटिक पोलिमरहरूको उत्पादन भइरहेका छन् ।

आइसीडीका अनुसार, सन् २०६० सम्म यो संख्या ४६ करोड टनबाट बढेर १.२ अर्ब टन हुने अनुमान गरिएको छ । मुख्यगरी अमेरिका, मध्यपूर्व र चीनमा प्लाष्टिकको उत्पादन बढेको छ । कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक संकटका कारण, स्वास्थ्य सेवा, खाद्य व्यापार र ई–कमर्समा एकल–प्रयोगवाला प्लास्टिकको खपत बढेको छ ।

एक अर्ब टन फोहोर

सन् २००० देखि २०१९ सम्म, विश्वभर उत्पादन हुने प्लास्टिक जन्य फोहोरको मात्रा दोब्बरभन्दा पनि बढी भयो । १९ वर्षको अवधिमा यस्तो फोहोर १५ करोड ६० लाख टनबाट बढेर ३५ करोड ३० लाख टन पुगेको थियो, जुन २०६० सम्म तीन गुणा बढेर एक अर्ब टन हुने अनुमान गरिएको छ ।

तीमध्ये दुई तिहाइभन्दा धेरै फोहोर प्लास्टिक प्याकेजिङका सामग्री, कपडा जस्ता पाँच वर्षभन्दा कम टिक्ने वस्तुबाट निस्कन्छन् । सन् २०६० सम्म वातावरणमा रहेको फोहोरको मात्रा दोब्बर भएर ४ करोड ४० लाख टन पुग्ने ओईसीडीको अनुमान छ, जसमध्ये धेरैजसो ठूला प्लास्टिक हुनेछन् तर तीनमा धेरै साना कणहरू पनि हुनेछन् जुन रगत र आमाको दूधमा भेटिएका छन् ।

संसारभर, प्लास्टिकजन्य फोहोरको ९ प्रतिशत मात्र पुनः प्रयोग गरिन्छ भने १९ प्रतिशत जलाइन्छ र लगभग ५० प्रतिशत ल्यान्डफिल्ड अर्थात् ठूला खाडलहरूमा पुग्छन् । बाँकी २२ प्रतिशत अवैधरुपमा फ्याँक्ने, खुला ठाउँमा जलाउने या वातावरणमा त्यत्तिकै फालिदिने गरेको पाइन्छ ।

समुद्री फोहोरमध्ये धेरैजसो प्लास्टिक

ओईसीडीका अनुसार, वातावरणमा २ करोड २० लाख टन प्लास्टिक फेला परेको छ, जसमध्ये ६० लाख टन नदी, पोखरी र महासागरमा गएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी)ले समुद्री फोहोरको कम्तीमा ८५ प्रतिशत प्लास्टिकजन्य फोहोर रहेको जनाएको छ ।

प्लास्टिकको पनि महत्वपूर्ण कार्बन फुट प्रिन्ट हुन्छ । सन् २०१९ मा, प्लास्टिकको कारणले १.८ अर्ब टन हरितगृह ग्यास उत्सर्जन भएको थियो, जुन विश्वभरको कुल उत्सर्जनको ३.४ प्रतिशत हो । ओइसीडी र युएनईपीका अनुसार, यस्तो उत्सर्जनको करिब ९० प्रतिशत प्लास्टिकको उत्पादन र प्रशोधनमार्फत आएको हो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ भदौ ३ गते मंगलबार