२०८३ जेठ २८ , बिहीबार 11, June 2026, Thursday

इजरायली राष्ट्रपतिले विपिनको तस्वीर समातेर अन्तर्राष्ट्रिय समुदायलाई भने, ‘परिवारको आवाज सुन्नुहोस्’

सत्यपाटीसत्यपाटी । इजरायल । २०८२ भदौ ३ गते मंगलबार

इजरायलीका राष्ट्रपति इसाक हर्जोगले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको लागि इजरायलले आवाज उठाइरहेको बताएका छन् । विपिनकी आमा पद्मा र बहिनी पुष्पासँगको भेटमा उनले उक्त कुरा बताएका हुन् । आइतबार विपिनकी आमा पद्मा र बहिनी पुष्पाले जेरुसेलमस्थित राष्ट्रपति निवासमा हर्गोजसँग भेट गरेका थिए ।

‘हामी विपिनको रिहाइको लागि आवाज उठाइरहेका छौं । उनी कहाँ छन् स्पष्ट छैन, तर इजरायल र हाम्रा बन्धकहरूको ख्याल राख्ने सबैले उनलाई घर ल्याउन सक्दो प्रयास गरिरहेका छन्,’ राष्ट्रपति हर्जोगले बिपिनको तस्वीर समातेर भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिरहेका छौं, विपिनको आवाज सुन्नुहोस् ।’

हमासले अक्टोबर ७, २०२३ मा इजरायलमाथि आक्रमण गर्दा विपिनलाई बन्धक बनाइ साथमा लगेका थिए । त्यसपछि उनको अवस्था कस्तो छ भन्ने बारेमा कुनै जानकारी हमासले दिएको छैन । लामो समय बित्दा पनि विपिनको पत्तो नलागेपछि उनको आमा र बहिनी गतसाता इजरायल गएका थिए । इजरायल सरकारको निमन्त्रणमा उनीहरु इजरायल गएका हुन् ।

यसैक्रममा आइतबार (भदौ १ गते) उनीहरुले इजरायलका राष्ट्रपतिसँग भेट गरेका थिए । उक्त भेटमा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित पनि रहेका थिए । भेटमा भयानक कठिनाइको सामना गरिरहेका विपिनको परिवारप्रति आफ्नो साथ र समर्थन रहेको इजरायलका राष्ट्रपति हर्जोगले बताएका थिए ।

‘विपिन नेपालबाट कृषि अध्ययन गर्न आएका थिए ताकि उनी नेपाल फर्केर आफ्नै देशमा राम्रो काम गर्न सकून् र आफ्नो तथा आफ्नो परिवारको लागि राम्रो जीवन बिताउन सकून्,’ इजरायलका राष्ट्रपतिले भने । भेटमा विपिनकी बहिनी पुष्पाले इजरायलका राष्ट्रपतिलाई आफ्नो साथ दिएकोमा धन्यवाद दिएकी थिइन् ।

‘यो मेरो र मेरो परिवारको लागि निकै हृदयविदारक छ । हामीलाई साथ दिएकोमा म इजरायललाई हृदयदेखि धन्यवाद दिन चाहन्छु,’ पुष्पाले भनिन् । उनले विपिनको रिहाइको लागि अन्तर्राष्ट्रिय समूदायसँग अपिल पनि गरिन् । ‘हामी कल्पना पनि गर्न सक्दैनौं कि उहाँ (विपिन) त्यहाँ कसरी बसिरहनु भएको छ । म अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्दछु, कृपया जे गर्न सक्नुहुन्छ गर्नुहोस्,’ पुष्पाले भनिन् ।

प्रकाशित मिति : २०८२ भदौ ३ गते मंगलबार