नेपालमा मनसुन हाल सामान्यभन्दा केही कमजोर बनेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले मनसुन सक्रियता घटेको हो ।
तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले देशका केही भागमा वर्षा हुने क्रम भने जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले दिएको जानकारी अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा, साथै मधेस प्रदेशको तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका केही स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
आज राति कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा सामान्य बदली रहँदा बाँकी भागमा आंशिक बदली हुनेछ । यस अवधिमा कोशी प्रदेशको पहाडी तथा तराई भूभागका साथै अन्य प्रदेशका पहाडी र तराई भागका एक–दुई स्थानमा मध्यम वर्षा पर्न सक्नेछ ।
कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ । महाशाखाले वर्षासँगै पहाडी भूभागमा पहिरो तथा तराई क्षेत्रमा जलमग्न हुने जोखिम रहने भएकाले सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

