२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

हेपाटाइटिस के हो ? यसबाट कसरी जोगिने ?

मानिसको कलेजोमा सुन्निने अवस्था हेपाटाइटिस हो । यो प्रायः विषाणु (भाइरस)का कारणले हुन्छ । तर, अत्यधिक मदिरा सेवन, केही औषधि वा अरू स्वास्थ्य समस्याले पनि हुन सक्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

कलेजो मानव शरीरको महत्त्वपूर्ण अंग हो । यसले खाना पचाउने, विषालु पदार्थ शरीरबाट फाल्ने र शक्ति सञ्चयको काम गर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको उक्त केन्द्रका अनुसार, मुख्यतः पाँच प्रकारका भाइरल हेपाटाइटिस हुन्छन् ।

हेपाटाइटिस ‘ए’ – यो फोहोर पानी वा खानाबाट सर्छ । यसको रोकथामका निम्ति खोप छ ।

हेपाटाइटिस ‘बी’ – यो रगत, वीर्य वा अरू शारीरिक तरल पदार्थबाट सर्छ । प्रसूतिको बेला संक्रमित आमाबाट बच्चालाई सर्न सक्छ । लामो समयसम्म रहन सक्छ र कलेजोको क्यान्सर पनि गराउन सक्छ । यसको रोकथामका निम्ति खोप छ ।

हेपाटाइटिस ‘सी’ – यो प्रायः रगतबाट सर्छ । जस्तै, असुरक्षित सुईको प्रयोग गर्दा वा संक्रमितको रगत लिँदा सर्ने केन्द्रले जनाएको छ । यसको संक्रमण प्रायः लामो समयसम्म रहन्छ र कलेजाको क्यान्सर पनि गराउन सक्छ । समयमै उपचार गरेमा यो निको हुन्छ ।

हेपाटाइटिस ‘डी’ – यो भाइरसले हेपाटाइटिस ‘बी’को संक्रमण भएका व्यक्तिलाई मात्र असर गर्छ । समयमा उपचार नगराएमा गम्भीर समस्या हुने केन्द्रले जनाएको छ ।

हेपाटाइटिस ‘ई’ – यो दूषित पानीको माध्यमबाट सर्छ । सामान्यतया रोग गम्भीर हुँदैन, तर गर्भवती महिलामा जटिलता निम्त्याउन सक्छ ।

शीघ्र हेपाटाइटिसमा कस्ता लक्षण देखिन सक्छन् ?

  • आँखाको सेतो भाग र छाला पहेँलो हुनु
  • अत्यधिक थकान महसुस हुनु
  • पखाला लाग्नुु
  • वाकवाकी लाग्नु वा बान्ता हुनु
  • पेट दुख्नु (विशेषगरी पेटको दायाँ माथिल्लो भागमा)
  • पिसाब गाढा पहेँलो हुनु
  • खान मन नलाग्नुु
  • जोर्नी तथा मांसपेसीहरू दुख्नु
  • ज्वरो आउनु

भाइरल हेपाटाइटिस कसरी सर्छ ?

  • दूषित पानी वा खानाबाट र अस्वच्छ वातावरणमार्फत
  • असुरक्षित यौन सम्पर्कबाट
  • असुरक्षित सुई वा धारिलो सामानको प्रयोगबाट
  • संक्रमित रगत लिँदा
  • प्रसूति हुँदा संक्रमित आमाबाट बच्चामा

भाइरल हेपाटाइटिसबाट कसरी जोगिने ?

  • साबुन र पानीले राम्रोसँग मिचीमिची हात धुने
  • सफा र शुद्धीकरण गरिएको पानी पिउने
  • पकाएको र सुरक्षित खाना खाने
  • अरूले प्रयोग गरिसकेका सुई, ब्लेड, ब्रस आदिको प्रयोग नगर्ने
  • असुरक्षित यौन सम्पर्क नगर्ने
  • हेपाटाइटिसविरुद्धको खोप लगाउने

हेपाटाइटिस ‘बी’ र ‘सी’को समयमा रोकथाम, उपचार नगरेमा सिरोसिस, कलेजोले काम गर्न छाड्ने, क्यान्सर र गम्भीर अवस्थामा मृत्यु पनि हुन सक्ने केन्द्रले जनाएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार