२०८२ चैत १ , आइतबार 16, March 2026, Monday

भित्रँदै जलवाष्पयुक्त हावा, केही स्थानमा भारी वर्षाको अनुमान

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २ गते सोमबार

देशका थोरै स्थानमा सोमबार (भदौ २) भारी वर्षाको पूर्वानुमान छ । लुम्बिनीको तराई र वाग्मती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, यस दिन देशभर साधारणतया बदली (बादल र वर्षा) रहनेछ । ‘कोसी, वाग्मती, मधेस र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भाग लगायत देशको बाँकी पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यस दिन राति कोसी र मधेस लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । ‘मधेस, कोसी प्रदेशको पहाडी तथा तराई भू–भाग लगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ ।

राति कोसीको तराई तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । पानी पार्ने प्रणाली मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । त्यसकारण नेपालमा मनसुन केही कमजोर रहेको महाशाखाले जनाएको छ । ‘तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ,’ बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार