२०८३ वैशाख ३ , बिहीबार 16, April 2026, Thursday

स्वस्तिमा र प्रकाशले एउटै गिलासको पानी खाएपछि…

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १ गते आइतबार

केही समयअघि नेपाली सिने जगतमा हल्ला फैलियो, ‘प्रकाश सपुत र स्वस्तिमा खड्काबीच पानी बाराबार छ, बोलचाल छैन रे !’ सामाजिक सञ्जालदेखि मिडियासम्म यही हल्ला व्यापक फैलियो ।

गायक, तथा निर्देशक प्रकाशको नयाँ फिल्म ‘वसन्त’को प्रचारमा स्वस्तिमा सहभागी नभएको कुरा चर्चामा आएको थियो । यही कारण दुवैबीच दूरी बढेको हो भन्ने अड्कल लगाइयो । स्वस्तिमा र प्रकाशले दर्जनौँ हिट गीत र फिल्ममा सँगै काम गरेका थिए ।

तर, पनि हल्ला फैलियो । प्रकाश र स्वस्तिमाको हालै सार्वजनिक गरिएको फिल्म ‘हरिबहादुरको जुत्ता’को प्रमोसन भिडिओले सबै प्रश्नको उत्तर दिएको छ ।

सार्वजनिक भिडिओमा ट्विस्ट छ,

प्रमोसनको लागि प्रकाश र स्वास्तिमा सँगै एउटै कोठामा बसिरहेका छन् । हास्य कलाकार सिता न्यौपाने प्रवेश गर्छिन् र भन्छिन्, ‘पानी बाराबार भएको सुनेको थिएँ, अझै किन नबोल्ने ? अब मिल्नुस् नि, ढिलो भइसकेछ ।’

त्यो संवादसँगै दृश्य पल्टिन्छ, स्वस्तिमा र प्रकाश एउटै गिलास समातेर पानी पिउँछन् । दर्शकको मनमा पलाइरहेको गसिप भने त्यही क्षण पानीजस्तै बग्छ । अनि, सुरु हुन्छ हाँसो । स्वस्तिमा प्रकाशलाई सम्मानका साथ ‘तपाईं’ भन्न आग्रह गर्छिन्, प्रकाश पनि मुस्कुराउँदै मान्छन् ।

यो क्षणले प्रष्ट हुन्छ, उनीहरूबीच कुनै खटपट छैन, बरू उक्त गसिपलाई हाँस्दै उडाउन सक्छन् । त्यसपछि प्रकाश उत्साहित स्वरमा घोषणा गर्छन्, ‘हाम्रो चलचित्र ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत यही भाद्र २ गते, साँझ ४ बजे ओएसआर डिजिटलमार्फत सार्वजनिक हुँदैछ ।’ स्वस्तिमा पनि जोड दिन्छिन्, ‘असोज १३ गते फिल्म रिलिज हुँदैछ, सबैले हलमै आएर रमाइलो गर्नुहोला ।’

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार